Wednesday, February 24, 2021

संसद पुर्नस्थापना गर्ने सर्बोच्च अदालतको फैसला ऐतिहासिक रहेको सर्लाहीका नेताहरुको प्रतिक्रिया



मनोज यादव----

सर्लाही ,फाल्गुन १२

     संसद पुर्नस्थापना गर्ने सर्बोच्च अदालतको फैसलापछि  विभिन्न दलसँग आबद्ध सर्लाहीका  नेताहरुले जनताको पक्षमा फैसला गरेको र यसबाट अदालतको गरिमा बढेको प्रतिक्रिया दिएका छन । रिपोर्टस क्लब नेपाल सर्लाही शाखाले आज(बुधबार) सदरमुकाम मलंगवामा आयोजन गरेको साक्षात्कार कार्यक्रममा नेताहरुले यस्तो प्रतिक्रिया दिएको हो ।

       नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीका नेता जितेन्द्र कुशवाहाले  सर्वोच्च अदालतको संसद पुनर्स्थापना  फैसलाबाट सम्पूर्ण नेपाली जनताको जित भएको बताएका छन् । उनले सम्मानित अदालतको फैसलाबाट तिल्मिल्याएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी कुनै षड्यन्त्र रच्न खोजेमा त्यसको सामना गर्न नेपाली जनता तयार रहेको बताए । साथै उनले प्रधानमन्त्री ओली र राष्ट्रपति बिधादेवी भण्डारीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने पनि बताएका छन् ।अढाइ सय वर्ष देशमा राज गर्दै आएका राजाले जसरी राजगद्दी छाडेर सम्मान पाइराख्नु भएको छ ,त्यसरीनै प्रधानमन्त्री  र राष्ट्रपतिले पनि स्वेच्छाले राजिनामा दिएमा उहाँहरुले पनि राजाको जस्तै सम्मान पाउने कुशवाहाले बताए ।उनले ओलीलाई बालकोट स्थित आफ्नो निवासमा बसेर आराम गर्न समेत सुझाव दिएका छन् ।

    यस्तै कार्यक्रममा सहभागी अर्का जनता समाजवादी पार्टीका नेता विरेन्द्र कुमार रायले संसद पुनर्स्थापनाबाट देशको  राजनितीक अवस्था सेटल भएको बताउनुभयो ।अब सहमतिय सरकारको आवश्यक्ता रहेको उहाँले धारणा राख्नुभयो ।संविधानबाट उपेक्षित गरिएका समुदायको भावनालाई समेटेर संविधान संसोधिन हुनुपर्ने उहाँले बताउनुभयो ।

     सम्मानित अदालतले गरेको फैसला स्वागतयोग्य रहेको नेपाली काँग्रेसका नेता जयप्रकाश मल्लिकले बताउनुभयो ।यो फैसलाले संविधानको सर्वोच्चता र कानुनी राजनितीको अवधारणालाई स्थापित गरेको र विधीको शासन नेपालमा छ भन्ने स्थापित गरेकोले  अदालतको यो फैसला  ऐतिहासिक रहेको नेपाली काँग्रेसको ठहर रहेको उहाँले बताउनुभयो ।दुई तिहाइको सरकारको विगत तीनवर्षे कार्यकालमा उब्जाएका समस्याहरुलाई संसदमा सबै राजनितीक दलहरुले शाझा समस्याको रुपमा पहिचान गरेर विगतका कमिकमजोरीहरुलाई औंल्याउँदै यसको समाधान गर्ने अविभारा सम्पूर्ण राजनीतिक दलको काँधमा आएको  मल्लिकले बताउनुभयो ।

   मलंगवा-१० स्थित रिपोर्टस क्लब सर्लाही शाखाको साक्षात्कार कक्षमा आयोजना भएको कार्यक्रम क्लबका सचिव राजिव साहको अध्यक्षतामा सम्पन्न भएको हो ।



No comments:

Post a Comment