Monday, February 22, 2021

सर्लाहीमा आयोजित अखिल नेपाल महिला संघको विरोध सभामा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्री नचाहिने भन्दै आवाज उठ्यो

 


लोकतन्त्र समाचारदाता ----

सर्लाही ,फाल्गुन ९

     प्रधानमन्त्री केपी ओलीले चालेको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम तथा महिला हत्या ,हिंसा र बलात्कारको विरुद्धमा आइतवार अखिल नेपाल महिला संघ सर्लाहीले सदरमुकाम मलंगवामा जुलुससहित विरोध प्रदर्शन गरेको छ। 

      दिउँसो  मलंगवाको नगरपालिका चौकबाट सयौंको संख्यामा महिलाहरुको सहभागीतामा निकालिएको जलुसमा प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदम ,भगिरथी भट्ट लगायतलाई बलात्कार गरि हत्या गर्ने अपराधीलाई कारबाही ,तेल,ग्याँस लगायत उपभोग्य बस्तुमा भएको चर्को मुल्य वृद्धि नियन्त्रण ,महिला-पुरुष बीच समानता ,भ्रष्टाचारको अन्त्य गरि सुशासन ल्याउने लगायतका मागहरु राखेर नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय नजिक सहिद पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    कोणसभालाई अनेमसंघका सदस्य लगायत संविधान सभा सदस्य ,प्रदेश सभाका महिला सदस्य ,विभिन्न स्थानीयतहका उपप्रमुखहरुले सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्दै महिला नेतृहरूले देशमा शृङ्खलाबद्ध रूपमा भइरहेका महिलामाथिको हिंसा, बलात्कार र हत्याका विरुद्धमा सङ्घर्षमा जुट्न अपिल गरे। सरकार महिला हिंसाका घटनाप्रति संवेदनशील बन्न नसकेको भन्दै उनीहरूले बलात्कारी र हत्यारामाथि कडा कारबाही गर्न माग गरे ।

  सम्बोधनको क्रममा महिला नेतृहरुले प्रतिनिधिसभा विघटन गर्न पाउने अधिकार  संविधानले कसैलाई नदिएको  भएपनि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर  देशमा राजनिती संकट ल्याएर सिंगो मुलुकलाई  अराजकता तर्फ धकेलेको आरोप लगाउँदै त्यस्ता राष्ट्रपति र प्रधानमन्त्री  आफुहरुलाई नचाहिने भन्दै जोडदार आवाज उठाएका थिए ।




No comments:

Post a Comment