Sunday, February 7, 2021

तराईमा लोप हुँदै कन्सारी (घोन्सारी), भुजा भुट्ने परम्पराको अन्त

 


तराईमा लोप हुँदै कन्सारी (घोन्सारी),  भुजा भुट्ने परम्पराको अन्त 


मनोज यादव---

सर्लाही , पुस २५

   तराईमा मधेशका जिल्लाहरुमा प्रचलित  भुजा भुट्ने कन्सारी(घोन्सारी)हरु विस्तारै लोप हुनथालेपछि मीठो र स्वादिलो भुजा हराउन थालेको छ । 

    कन्सारीमा भुटिएका भुजा मिलमा भुटिएका भुजा भन्दा बढी स्वादिलो हुने भएकोले कन्सारीको भुजा खान मानिसहरु धेरै रुचाउँछन् । अहिलेको प्रविधिको युगमा  मिलमा भुजा तयार हुनथालेकाले गाउँघरबाट  कन्सारीहरु लगभग हराइनै सकेको मलंगवा नगरपालिका वडा न-५ भाँडसरका ६५ वर्षिय राजकरण रायले बताए ।पहिले प्रत्येक गाउँमा कम्तीमा एउटा मात्र भएपनि कन्सारी निश्चित रुपले हुन्थ्यो र स्थानीयहरु प्रत्येक दिन त्यही कन्सारीमा आफुलाई मनपर्ने  अनाजको भुजा भुट्न आउँथे ।भुटेको भुजा सपरिवार खाजाको रुपमा खान्थे र त्यही भुजा खेतमा काम गर्ने  मजदुरलाई पनि खाजाको रुपमा खान दिन्थे । तर आजकल यस्तो सायदै कतै कुनै गाउँ हेर्न अथवा सुन्न पाइन्छ उनले भने।

    कन्सारीमा भुजा भुट्न अधिकतर महिलाहरु नै आउने गर्छन ।भुजाको लागि  चना, चामल, मकै, भटमास, जनेरा,  बदाम, चिउरा लगायतका अनाजहरुको प्रयोग हुनेगरेको छ।कन्सारीहरु अधिकतर गाउँबाट बाहिर लगाइन्छ । जमिनमुनि  एउटा ठूलो खाल्डो खनेर त्यस माथि दुई वा तीन वटा माटोको हाँडी (खपडी) अथवा  तेलको खाली  टिन राखेर बालुवा तताइन्छ ।हाँडीमा राखिएको बालुवा राम्रो सँग  तातेपछि त्यसमा अनाज राखेर केहीबेर बाँसको तिनचार वटा सिन्काले भुटेपछि  भुजा खानलाई तयार हुन्छ  ।फरक अनाजको लागि फरक तापको आवश्यक्ता पर्छ ।कन्सरियाले सोही अनुसारको तापमा बालुवा तताउँछन ।कनसरियाहरु बालुवा तताउन उखुको पगार र अन्य खरपतवारको प्रयोग गर्छन । कनसरियाको पुरै परिवार मिलेर दिनभर खरपतवार बटुलेर बेलुका कन्सारी लगाउने गरेका छन् ।

   उनिहरु पारिश्रमिक स्वरुप ग्राहकहरुले भुजा भुट्न ल्याएको अनाजबाटै केही हिस्सा राख्ने गर्छन अथवा सो वापत केही रकम लिने गरेका छन् । यसरी भुजा भुट्ने  पेशागत जातिमा गोढ, भट, भुजवा, बनियाँ, कानु, भन्सरिया तथा अन्य निम्न आय भएका जातजातीहरु ठाउँ अनुसार  हुनेगरेका छन् ।

     गाउँघरमै यस भन्दा बढी आम्दानी हुने खालका रोजगार, वैदेशिक कमाइ, मेसिनबाट तयार हुने  भुजाको प्याकिङका लागि प्याकेटको सहजै  उपलब्धता, अत्याधुनिक मिलको स्थापना लगायतका कारणहरुले गर्दा पनि गाउँघरबाट कन्सारीहरु लोप हुनथालेको जानकारहरुको भनाई छ ।

No comments:

Post a Comment