Monday, February 28, 2022

कोरोना कालमा दिनरात खटेका सर्लाहीका ८० भन्दाबढी स्वास्थ्यकर्मीहरु सम्मानित

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १६

   हरिवन नगरपालिकाले २४ औं स्वास्थ्य सेवा दिवसको अवसरमा सर्लाहीका ८० भन्दाबढी स्वास्थ्यकर्मीहरुलाई सम्मानित गरेको छ।

    कोरोना कालको समयमा आफ्नो स्वास्थ्यको ख्याल नगरि बिरामीहरुको सेवामा दिनरात खटेका  र अन्य समयमा पनि विभिन्न माध्यमबाट स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै आएका हरिवन नगर भित्रका स्वास्थ्यकर्मीहरुलाई  दिवसको अवसर पारेर दोसल्ला ओढाई सम्मान पत्र र पुरस्कार  दिएर सम्मान गरेको छ।

नगर स्वास्थ्य तथा सामाजिक विकास शाखाले स्वास्थ्य दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेर जिल्ला स्वास्थ्य कार्यालय, बागमती सेवा समाजसहित नगरभित्रका निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत ८० बढी स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको हो। 

   सम्मानित हुनेहरुमा जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख तथा प्रादेशिक अस्पताल मलंगवा सर्लाहीका मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झा, बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, हरिवन अस्पतालका प्रमुख डाक्टर ईन्द्रजीत महतो, स्वाभिमान अस्पतालका प्रवन्ध निर्देशक गौरी महतो, नगर स्वास्थ्य शााखाका संयोजक शशीकान्त सिंह, सह–संयोजक रामबाबु चौधरी, सासापुर स्वास्थ्य चौकीका प्रमुख डा. श्याम विनोद कुशवाहा, स्टाफ नर्स लक्ष्मी आचार्य लगायत रहेका छन् । 

   नगर स्वास्थ्य समितिका संयोजक एवं हरिवन नपा वडा न- ८ का वडा अध्यक्ष यज्ञ विनोद ढुंगेलको अध्यक्षता तथा  मेयर गणेश प्रसाद प्रसाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उप मेयर रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, नगर शिक्षा संयोजक उपसचिव नवराज निरौला, विभिन्न वडाका वडाअध्यक्षहरु, नगरका चार ओटै हेल्थपोष्टसहित सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, नर्सिङ्ग स्टाफ, महिला स्वास्थ्य स्वयंसेविकालगायतको उपस्थिति रहेको थियो । 


No comments:

Post a Comment