Wednesday, February 16, 2022

मलंगवा बजारको सडक सवारी साधन पार्किङ स्थल र फुटपाथे व्यापारीहरुको गोदाममा परिणत

 

===नियमनकारी निकायको लापरबाही र उदासीनताले गर्दा यस्तो अवस्था आएको स्थानीयहरुको आरोप===


मनोज यादव---

सर्लाही,फाल्गुन ४

    नगरपालिका घोषणा भएको छोटो समयमै सर्लाहीको हरिवन नगरपालिकालाई नगर विकास कोष नयाँ बानेश्वर, काठमाण्डौंले उत्कृष्ट नगरपालिकाको रुपमा छनौट गर्दै सम्मान गरेको छ तर  जिल्लाको सबैभन्दा पुरानो तथा पहिलो  नगरपालिकाको साथै जिल्ला  सदरमुकाम समेत रहेको मलंगवा नगरपालिका व्यवस्थापन र विकास लगायतको काममा पछि परेको छ। 

   मलंगवा बजारका सडकहरु सवारीसाधन पार्किङ गर्ने स्थल बनेको छ।बजारको सडक छेउ सयौंको संख्यामा साइकल, मोटरसाइकल,जिप,कार,टेम्पो ,ठेला लगायतका सवारीसाधनहरुले भरिएका छन् ।बसपार्क त झन जथाभावी रुपमा पार्किङ गरिएका टेम्पुहरुका कारण अस्त व्यस्त बनेको छ ।

    मलंगवा क्षेत्रमा पर्ने जिविस चौकदेखि लिएर बसपार्क,बालमन्दिर चौक, नगरपालिका कार्यालय नजिक मेन चौक हुँदै भगवती मन्दिर, नेपाल बैक र मालपोत कार्यालयसम्मको सडकको दुवै तर्फ जथाभावी रुपमा पार्किङ गरि राखिएका सवारी साधनहरुका कारण ट्राफिक व्यवस्थापन अस्त व्यस्त बनेको छ। बसपार्कदेखि नेपाल बैंकसम्मको सडक अत्याधिक व्यस्त सडकको रुपमा रहेको छ । बालमन्दिरदेखि मेन चौकसम्मको सडकमा विभिन्न बैंकहरु रहेका छन् ।ती बैंकहरुमा आउने सेवाग्राहीहरुले सडकको दुवै छेउ  अव्यवस्थित रुपमा पार्किंग गर्ने गरेका छन् ।यसरी दुवैतर्फ पार्किङ गरेर राखिएका सवारीसाधनका कारण सो बाटो भएर ओहोरदोहोर गर्न अन्य सवारीसाधन तथा पैदल यात्रुलाई समस्या हुने गरेको एक व्यापारीले बताए ।

    एकातिर चालकको मनमानीले हुने गरेको  सवारी पार्किङ  र अर्को तर्फ स्थानीय पसलेहरुले सडक छेउमै (फुटपाथ) समानहरु थुपारेर बेच्न थालेपछि पैदल हिंड्न समेत गार्‍हो  हुने गरेको स्थानीय संजय पाण्डे र ज्योतिषाचार्य प्रभाकर झाले बताए। सम्बन्धित नियमनकारी निकायको लापरबाही र उदासीनताले गर्दा मलंगवा बजारको सडक पार्किङ स्थल बन्दै गएको छ भनै फुटपाथका व्यापारीहरुको लागि मलंगवाको सडक खुला गोदाम बन्दै गएको छ ।

     एका बिहानैदेखि मलंगवा बसपार्क क्षेत्रमा टेम्पु,मोटरसाइकल र बसको बाक्लो भीडका कारण स्थानीयवासी र पैदल यात्रुहरुले समस्या भोग्नु परिरहेको छ ।बसवालाहरु पनि जहाँपायो त्यहीँ बस रोकेर यात्रु चढाउने र ओराल्ने गरेका कारण सडकमा भिड जम्मा भएर दिनहुँजसो  दुर्घटना हुने गरेकोे छ।

  बजार क्षेत्रमा सवारीको भिड मात्र नभइ बाटो छेउमै फोहरको डुँग्रो थुप्रिएको र नगरपालिकाले पनि सरसफाईमा कुनै  चासो नदिएको स्थानीयवासीहरुको गुनासो छ । अव्यवस्थित पार्किङ तथा फोहर व्यवस्थापनको अभावमा दिनहुँ स–साना सवारी दुर्घटना समेत हुने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । बजार क्षेत्रमा प्रशासनको नाममा २-४ जना प्रहरीहरु  रहेतापनि उनीहरुले कुनै काम नगरी डुली मात्रै राख्ने स्थानीयवासीको आरोप छ । प्रहरीले खुला छुट दिएकै कारण  मनोमानी गर्नेहरु बढेको स्थानियहरुको आरोप छ।

   अहिले मलंगवामा मोटरसाइकल चोरीका घटनाहरु पनि बढेका छन् ।

No comments:

Post a Comment