Wednesday, February 2, 2022

महोत्तरीकाे एकडारा गाउँपालिका बेलामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय भन्दाबढीले सेवा लिए

 


पप्पु अधिकारी---

महोत्तरी ,माघ १९

   महोत्तरीकाे एकडारा गाउँपालिका वडा न- २ स्थित बेला गाउँमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

   एकडारा गाउँपालिका वडा नं २ बेला स्थित  ने.रा. प्रा.  विद्यालयको प्राङ्गणमा सम्पन्न भएको  आँखा शिविरबाट १५० जना आँखा  सम्बन्धी रोगका बिरामीहरुले नि:शुल्क स्वास्थ्य सेवा लिएका थिए ।   

   उक्त नि:शुल्क स्वास्थ्य शिविरको नेपाल रेडक्रस सोसाइटी श्री जानकी आँखा अस्पतालका सभापती गंगाराम यादव र प्रमुख अतिथि जनता समाजवादी पार्टी मधेस प्रदेश समितिका सदस्य निर्मला यादवले संयुक्तरूपमा उद्घाटन गरेका थिए।उक्त शिविरबाट एकडारा गापा अन्तर्गतका ६ वटै वडाका महिला तथा पुरुष बिरामीहरुले स्वास्थ्य सेवा लिएका थिए। 

    स्थानीय तहमा महिलाहरुको स्वास्थ्यमा पहुँच कम भएको तथा कतिपय रोगका बारेमा महिलाहरुले खुलेर नबताउने गरेकाले यस्ता शिविरमार्फत रोगको पहिचान हुने र रोगको रोकथाम तथा उपचारको लागि सहयोग मिल्ने प्रमुख अतिथि यादवले बताएकी छिन । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने र  आगामी दिनमा थप प्रचार प्रसार गरि स्वास्थ्य सम्बन्धी जनचेतनाका कार्यक्रमहरु समेत गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

    शिविरमा महिलाहरुको उपस्थितिलाई देख्दा स्वास्थ्य प्रति मधेशका महिला दिदीबहिनीहरु सचेत भएको देखिन्छ ,यादवले भने । उनले भौगोलिक विकटता र पालिकाको केन्द्रसम्म आउन सवारी साधनकाे सुविधा नहुँदा पनि कतिपय आउन नसकेकाले आगामी दिनहरुमा बेलामा जस्तै  यस गाउँपालिकाका सबै वडाहरुमा  पनि यस्ता कार्यक्रमको आयोजना गर्न सुझाव दिए।

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी श्री जानकी आँखा अस्पतालका सभापती गंगाराम यादवले अब कसैले पनि पैसाको अभावका कारण आँखा उपचार सेवाबाट बञ्चित हुन नपर्ने बताए ।अब कसैले पनि आर्थिक अभावका कारण उपचार नपाइ दृष्टी गुमाउनु नपर्ने बताउँदै  प्रदेश सरकारसँग समन्वय गरी मधेस प्रदेशका जनतालाई उज्यालो प्रदान गर्ने यादवले बताए । 

    एकदिने नि:शुल्क आँखा शिविरमा मोतियाबिन्दु लगायत आँखामा हुने अन्य सबै किसिमका समस्याहरुको जाँच गरिएका थिए।शिविरमा फेला परेका  मोतियाबिन्दुका बिरामीहरुको  अप्रेशन समेत गरिने आयोजकले जानकारी दिए।

  जनकपुरधामस्थित नेपाल रेडक्रस सोसाइटी श्री जानकी आँखा अस्पतालले पछिल्लो समय गरेको निःशुल्क शिविरमा परीक्षण गराएकामध्ये करिव ५० प्रतिशतमा मोतिबिन्दुको समस्या रहेको  पाइएको छ।महोत्तरी जिल्लामा पनि मोतिबिन्दुका बिरामीको संख्या दिनानुदिन बढ्दै गएको छ । मानवले आँखालाई गम्भिरताका साथ नलिएको नेपाल रेडक्रस सोसाइटी श्री जानकी आँखा अस्पतालका सभापती  यादवले जानकारी दिएका छन् ।आँखाको समस्या देखिएका धेरै बिरामी भएका कारण स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको सभापति  यादवले बताए । 

  एकडारा गाउँपालिकाका वडा न- २  का वडाअध्यक्ष  अजय यादवले स्वास्थ्य शिविरमा महिलाहरुको उत्साहजनक सहभागिता रहेकाे बताएका छन्  । स्थानीयस्तरमै शिविर सञ्चालन भएपछि स्थानीयवासी खुशी भएका वडा अध्यक्ष यादवले बताएका छन् ।

  नेपाल रेडक्रस सोसाइटी श्री जानकी आँखा अस्पतालका डाक्टर अरुण सिहंले  चेकजाँचका क्रममा ६१ जनाको आँखामा मोतिबिन्दुको समस्या पाइएको जानकारी गराएका छन्  ।मोतिबिन्दुको समस्या देखिएका आँखा रोगीहरुलाइ नेपाल रेडक्रस सोसाइटी श्री जानकी आँखा अस्पतालमा  नि:शुल्क शल्यक्रियाको लागि रेफर गरिएको छ ।

   उक्त शिविरबाट १ सय ५० जना आँखा सम्बन्धि बिरामीहरु मध्ये  ९० जना महिला र ५०  जना पुरुषहरुले सेवा लिएका थिए भने ६१ जनाको आँखाको अप्रेसन गरिएका थिए।

   शिविरमा आँखा परीक्षणको साथै अपरेसन , औषधी वितरण र चस्मा  नि:शुल्क वितरण गरिएको थियो ।

शिविरमा सबै भन्दा बढी वृद्धवृद्धाहरुले आँखाको चेकजाँच गराएका थिए।उनीहरु आफ्नै घर आँगनमा विशेषज्ञ डाक्टरबाट चेकजाँचको साथसाथै मोतियाबिन्दुको शल्यक्रियाका  गराउन पाउँदा खुसी व्यक्त गर्दै आयोजक लगायत चिकित्सक टोलीलाई समेत शिविर स्थलमै धन्यबाद दिएका थिए।


No comments:

Post a Comment