Sunday, February 6, 2022

बेमौसमी वर्षाले सर्लाहीमा करोडौंका काँचो इट्टा नष्ट

 




मनोज यादव----

सर्लाही ,पुस २३

   तीन दिनअघि देखि परेको बेमौसमी झरीका कारण सर्लाहीमा  करोडौं रुपैयाँको काँचो इट्टा गलेर नष्ट भएको छ । गत बिहीबारदेखि शनिवारसम्म भएको वर्षाले जिल्लाका दर्जनौं  इट्टा उद्योगमा घाममा सुकाउन राखिएका काँचो इट्टा गलेर नष्ट भएका हुन् ।

   सर्लाहीमा संचालित दर्जनौं इट्टा उद्योगमा एक महिनादेखि मजदुर लगाएर बनाएको काँचो इट्टा वर्षाले नष्ट भएपछि यहाँका भट्टा  संचालकहरु आर्थिक मारमा परेका छन् ।सुकाएर भट्टीमा पकाउनको लागि तयार पारेर राखिएको ९० प्रतिशत काँचो ईट्टा  पानीले गलेर पुर्णरुपमा नष्ट गरेको  ब्रम्हपुरी गाउँपालिका वडा नं -५ मा रहेको चन्दन ईट्टा उद्योगका संचालक लाल बिहारी राय यादवले बताएको छ।

   तयारी अवस्थामा राखिएको ९० प्रतिशत इट्टाहरु नष्ट हुँदा आफ्नो मात्रै करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको रायले बताए । एउटा काँचो ईट्टामा तयार गर्न दुई रुपैयाँ सम्म खर्च लाग्ने गरेको उनले बताए ।इट्टाको माग बढेको खण्डमा इट्टाको अभाव समेत हुन सक्ने रायले बताए ।

  मंसिर महिनादेखि धमाधम काँचो इट्टा तयार पारि घाममा सुकाएर माघदेखि पोलेर तयार पार्ने गरिन्छ।घाममा सुकाएर पकाउन तयार पारिएको काँचो इट्टा गलेपछि त्यसलाई पुनः प्रयोगमा ल्याउन मिल्दैन । भट्टामा पोल्नका लागि तयार पारिएका काँचो इट्टा सुक्न चैत बैशाखमा कम्तीमा पाँच/छ दिन र हिउँदको याममा १२ देखि १५ दिन लाग्ने गरेको भट्टा संचालक रायले भने।

    एउटा इट्टा भट्टामा १ सय भन्दाबढीको संख्यासम्म कामदार कार्यरत हुन्छन् । बेमौसमी वर्षाले पार्ने यस खालको नोक्शानी हरेक बर्ष खेप्दै आउनु परेको गुनासो व्यवसायीहरुको छ ।

   व्यवसायीलाई यति ठूलो बज्रपात परेको छ।सरकारले तोकेको सबै किसिमका कर आफुहरुले समयमा तिर्दै आएका छौं । यस्तो अवस्थामा सरकारले हेर्छ भन्ने आशा छ, रायले  भने ।



No comments:

Post a Comment