Friday, February 25, 2022

सर्लाहीमा मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन गर्ने तयारी

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १३

   जिल्ला निर्वाचन कार्यालय सर्लाहीले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ । आगामी बैसाख ३० गते  तोकिएको स्थानीय तहको निर्वाचनको पुर्वतयारी स्वरुप निर्वाचन कार्यालय सर्लाहीले जिल्लामा  मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको हो ।

   निर्वाचनको तयारी स्वरुप जिल्ला निर्वाचन कार्यालय सर्लाहीले शुक्रवार सदरमुकाम  मलंगवामा मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) कार्यक्रम सम्वन्धी सरोकारवालाहरु सँग अन्तरक्रिया गरेको छ ।

    कार्यक्रममा निर्वाचन आयोगले तय गरेको निर्वाचन सम्वन्धी कार्यक्रम कार्यान्वयन तालिका भित्र रहेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी दिवाकर भुजेलले जानकारी गराउनु भएको छ ।  आगामी फाल्गुन २० गतेदेखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचनका लागि अद्यावधिक मतदाता नामावली तयार पारिने जिनिअ भुजेलले बताए। 

    मतदाता नामावली अद्यावधिक  कार्यक्रम मार्फत मतदाताले मतदाता नामावलीमा आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न, मतदाता नामावलीमा भएका दोहोरोपन वा त्रुटी हटाउने, मतदाता नामावली ऐनले व्यवस्था गरेका कार्यहरु सम्पन्न गरी हालसम्म संकलित मतदाता नामावलीलाई वैधानिकता प्रदानका कार्य गरिने कार्यक्रममा जानकारी दिइएको छ ।

  त्यस्तै  नाम दोहोरो परेका मतदाताको विषयमा जाँचबुझ गरी निर्णय गर्ने, बसाई सरेका र मृत्यु भएका मतदाताको सम्बन्धमा जाँचबुझ गरी निर्णय गर्ने, नागरिकता त्याग गरेका वा रद्द भएका मतदाताको नाम हटाउने लगायतका कामहरु गरिने छ।

    जिल्ला समन्वय समितिको सभाहलमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षता तथा  जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यतामा जिल्ला निर्वाचन कार्यालय सर्लाहीले  आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न सुरक्षा निकायका प्रमुख, स्थानीय तहका कार्यकारी प्रमुख,विभिन्न राजनैतिक दलका प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment