Wednesday, June 15, 2022

सर्लाहीको हुलाकी राजमार्गको निर्माणकार्य कछुवा गतिमा

 ===सुस्त निर्माणकार्यका कारण जनता निराश===



मनोज यादव---

सर्लाही,असाढ १

   राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको तराईको मेरुदण्डका रुपमा चिनिने सर्लाही जिल्ला अन्तर्गतको हुलाकी राजमार्गको निर्माण कार्यले गति लिन सकेको छैन ।कछुवाको गतिको भइरहेको निर्माणकार्यलाई देखेर जनताहरु निराश बनेका छन् ।  

    पटकपटक  बिभिन्न बहानामा निर्माणकार्यमा भइरहेको ढिलासुस्ती र   अलमलले गर्दा स्थानीयहरु वर्षातको मौसममा हिलो ,पानी र सुख्खा मौसममा धुलोको समस्याबाट पिडित बन्दै आएका छन् । जिर्ण हुलाकी  सडकका कारण  सवारीसाधन नचल्दा कृषि उत्पादनका लागि पनि महत्वपूर्ण मानिने यस क्षेत्रमा उत्पादन भएका फलफुल तथा  तरकारीले बजार नपाउँदा यस क्षेत्रका किसानहरुलाई वर्षेनि ठूलो घाटा बेहोर्नु परेको छ। 

    हुलाकी राजमार्ग आयोजना कार्यालय, जनकपुरले सर्लाहीमा पर्सा गाउँपालिकाको संग्रामपुर स्थित बाँके खोलादेखि पश्चिम बलरा नगरपालिका  स्थित बागमती नदीसम्मको हुलाकी सडक तीन खण्डमा ठेक्का लगाएर निर्माण गराइरहेको भएपनि लामो समयदेखि निर्माण कार्य पूरा नहुँदा यस भेगका नागरिकहरुलाई सास्ती खेप्नु परेको नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले बताए । केही दिनदेखि निरन्तर वर्षा भइरेकोले उक्त हुलाकी सडक भएर सवारीसाधनलाई मात्र नभइ पैदल यात्रीहरुलाई समेत आवतजावत गर्न समस्या भइरहेको चौधरीले बताए ।उक्त सडक  अहिले पुरै  हिलाम्मे भएको उनले भने ।

      दबाब  सिर्जना गरेर चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गराउने उद्देश्यले गत वर्ष सर्लाही जिल्लाका जनप्रतिनिधि नागरिक समाजका अगुवाल,आमजनता लगायतका व्यक्तिहरु सदरमुकाम मलंगवा स्थित जिल्ला विकास चौकमा धर्नामा  बसेको भएपनि अहिलेसम्म कुनै प्रगति नदेखिएको ब्रह्मपुरी गाउँपालिका,सखुअवाका एक स्थानीय शिक्षक दिनेश साहले गुनासो गरे।

    संघ तथा प्रदेश सरकारका बहालवाला मन्त्री र सांसदहरु पनि जिल्ला आएर आश्वासन मात्र दिएर जाने गरेको मलंगवा नपा वडा न-९ का अजमल मिकरानीले दुखेसो पोखे। 

   तर उता हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरका प्रमुख कृष्ण कुमार महतोले भने हुलाकी सडक निर्माणको काम धमाधम अघि बढिरहेको दावी गरेका छन् ।उनले बाँके र बागमती दुवैतर्फबाट केही किलोमिटर सडक कालोपत्रे भइसकेको बताउँदै जेठको अन्तिम सातातिर सडक निर्माणमा गति देखिने दावी गरेका छन् ।तर जेठ महिना बितिसकेको भएपनि निर्माणकार्य कछुवा भने अहिलेपनि कछुवाकै गतिमा भइरहेको देखिएको छ।

   कार्यालय प्रमुख महतोले दावी गरे अनुसारको काम कतिसम्म पूरा हुने हो ? त्यो हेर्न बाँकी नै छ।

    


1 comment:

  1. Please send me the Sagrampu to Malangwa contractor Name with photo

    ReplyDelete