Wednesday, June 8, 2022

मलंगवाका वडाहरुमा अनलाइनबाट व्यक्तिगत घटना दर्ता गरिंदै

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ २५

    सर्लाहीको मलंगवा नगरपालिका वडा न-८ को वडा कार्यालयले  अनलाइनबाटै व्यक्तिगत घटना दर्ता सुरु गरेको छ । 

   घरघरमा इन्टरनेटको सुविधा रहेकोले  घरमै बसेर अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता गराउँदा वडा कार्यालय धाइरहनु नपर्ने  साथै समय पनि कम लाग्ने भएकोले अनलाइन प्रणालीको सुरु गरेको वडाध्यक्ष मुकेश जयसवालले बताए ।व्यक्तिगत घटना दर्ताका लागि आउने सेवाग्राहीलाई छिटो र छरितो तरिकाले अनलाइन प्रणालीमा घटना दर्ता व्यवस्थित बनाउनका लागि अनलाइन घटना दर्ता सुरु गरेको उनले बताए ।   

     अनलाइनमार्फत काम हुँदा समय र जनशक्तिको समेत बचत भएको वडाध्यक्ष जयसवालले बताए ।

    अनलाइनमा घटना दर्ता गराउँदा दर्ता प्रमाण हराएमा वा केही भएमा पुरानो प्रणालीअन्तर्गत खोजी राख्न समस्या नहुने र सजिलै कम्प्युटरका माध्यमबाट प्रदान गर्न सकिन्छ ।

    नेपाल  सरकारले सेवाग्राहीलाई छिटोछरितो तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले २०७२ सालदेखि पञ्जीकरणसम्बन्धी व्यक्तिगत घटना दर्ता अनलाइन प्रक्रियामार्फत गर्ने घोषणा गरेको थियो ।

   वडाध्यक्ष जयसवालका अनुसार अनलाइन घटना दर्ता प्रणालीबाट जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद, बसाइँ सराइजस्ता व्यक्तिगत घटनाको व्यवस्थापन एवं नियन्त्रण तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन व्यवस्थापनका लागि सहज हुने साथै  अनलाइनमार्फत व्यक्तिगत घटनाको दर्ता हुँदा अध्यावधिक गर्नसमेत सहज भएको हुनेछ  । 

    मलंगवा नगरपालिका अन्तर्गतको वडा न-२ लगायत अन्य केही वडा कार्यालयले यसअघि नै अनलाइनबाट व्यक्तिगत घटना दर्ता सुरु गरिसकेका छन् ।



No comments:

Post a Comment