Thursday, June 2, 2022

भारत भ्रमणमा कृषि मन्त्रालयको एजेन्डा तय

 

एसपी यादव--

काठमाडौ, जेठ १९ 

   कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवको ८ दिने आसन्न भारत भ्रमणमा छलफलका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राथमिकताका आधारमा एजेन्डा छनौट गरेको छ। 

  कृषि तथा पशुपन्छीतर्फ सात बुँदे एजेन्डा तय गरिएको छ । एजेन्डाहरुमा क्रमशः जिटुजि विधिबाट रासायनिक मल खरिद सम्बन्धमा पहिलो संचालन समिति बैठक मार्च १६, २०२२ मा सम्पन्न भई सो को माइन्युट नेपाल पक्षबाट भारत पक्ष समक्ष पेश भएको, रासायनिक मल कारखाना स्थापना, व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग, मुर्रा राँगा आयात, एकीकृत चेकपोस्ट स्थापना र खोरेत भ्याक्सिन उत्पादन रहेको छ ।

  भारत सरकारको रसायन एवं उर्वरक मन्त्रालयसंग जिटुजि विधिबाट रासायनिक मलको आपूर्ति र रासायनिक मल कारखाना स्थापनाको सन्दर्भमा ग्याँसबाट संचालित मल कारखानाको हकमा ग्याँस पाइपलाईन विस्तार, कृषि तथा सहकारीता मन्त्रालयसंग व्यापार प्रवर्द्धन र प्राविधिक सहायता र मत्स्य पालन, पशुपालन तथा दुग्ध मन्त्रालयसंग उत्पादन र उत्पादकत्व वृद्धिका लागि नस्ल सुधार गर्न मुर्रा राँगाको आयात, एकीकृत चेकपोस्ट स्थापना र खोरेत भ्याक्सिन उत्पादनका लागि खोरेत भाइरसको सिड सहित पूर्वाधार निर्माणमा सहायताको लागि भारत सरकार समक्ष अनुरोध गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।

  आसन्न भारत भ्रमणमा कृषि मन्त्रालयको तर्फबाट मन्त्री महेन्द्र राय यादव, पशुपन्छी विकास तर्फको सचीव निरु दाहाल पाण्डे, खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखाको सह- सचीव शवनम सिवाकोटी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बाल कुमारी शर्मा खनाल त्यसै गरि राष्ट्रिय योजना आयोगको तर्फबाट सदस्य दिलबहादुर गुरुङ, सचीव केवलप्रसाद भण्डारी, सह- सचीव डा. वासुदेव शर्मा, कार्यक्रम निर्देशक महेश खरेल लगायत सहभागी भएको  जनाइएको छ ।

  विश्व खाद्य कार्यक्रम (WFP) द्वारा भारतको दिल्लीमा आयोजित खाद्य अधिकार र खाद्य सम्प्रभुता ऐन सम्बन्धमा उच्चस्तरीय नेपाल अध्ययन मिशनमा सहभागी हुन कृषि मन्त्री यादवको नेतृत्वको प्रतिनिधिमण्डल भारत पुगेको हो ।   कृषि मन्त्री यादवको नेतृत्वको प्रतिनिधिमण्डल एअर इन्डियाको नियमित उडानबाट बुधबार दिउँसो ३:१५ बजे नयाँदिल्ली प्रस्थान गरेका छन् ।

   सोही एयरलाइन्सबाट  जेठ २६ गते बिहिवार दिउँसो १२:२५ बजे स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment