Friday, June 17, 2022

जिसस सर्लाहीको प्रमुख र उप प्रमुखसहित सबै सदस्य निर्विरोध विजयी,उनीहरुले असार ५ गते प्रमाणपत्र पाउने

  

    

लोकतन्त्र समारदाता---

सर्लाही,असार ३

   आज(शुक्रवार) जिल्ला समन्वय समिति सर्लाहीको प्रमुख र उप प्रमुख पदको लागि छुट्याइएको समय भित्र दुइजनाको मात्र मनोनयन पत्र परे पछि उनीहरूलाई निर्विरोध निर्वाचित गरिएको छ।

   मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्धारण गरेको शुक्रवार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म    भित्र प्रमुख पदको लागि नेपाली  कांग्रेसबाट कौशल किशोर सिंह र उप प्रमुख पदको लागि माओवादी केन्द्रबाट जीतेन्द्र कुमार कुशवाहाकाे मात्र उम्मेदवारी परेपछि दुवैजना निर्विरोध निर्वाचित भएका छन् ।

   जिसस सर्लाहीको प्रमुख र उप प्रमुखसहित अन्य सात जना सदस्य पनि निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    कांग्रेसले प्रमुखसहित ६ जना सदस्य र माओवादीले उप प्रमुखसहित एक जना सदस्य लिने गरि भागबण्डा मिलाएर  तालमेल मिलाएका  थिए । जस अनुसार सदस्यहरुमा लालबन्दी नगरपालिकाबाट रामबहादुर बोम्जन, हरिपुर नपाबाट अलाउँद्दिन मियाँ, हरिपूर्वा नपाबाट रामशिला कुमारी यादव, चक्रट्टा गाउँपालिकाबाट  रेखादेवी साह, ईश्वरपुर नपाबाट पासवती देवी थरुनी र गोडैता नपाबाट सोनावती देवी र लालबन्दी नपाबाटै हेम कार्की सदस्यमा चयन भएक छन् ।

   यस निर्वाचनमा पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष मतदाता हुने गरेका छन् । सर्लाही जिल्लाको २० वटा पालिकाहरुमा प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष गरी ४० जना मतदाता रहेका छन् । जसमा कांग्रेस एक्लैसँग १२ पालिका प्रमुख र ११ पालिकाको उपप्रमुखसहित २३ मत रहेको छ ।

त्यस्तै, माओवादी केन्द्रसँग ४ पालिका प्रमुख र उप प्रमुखसहित ८ मत रहेको छ ।त्यसैगरी  जनता समाजवादी पार्टी (जसपा) सँग २ पालिका प्रमुख र उप्रमुखसहित ४ मत रहेको छ । नेकपा एमालेसँग १ पालिका प्रमुख र दुई पालिका उप प्रमुखसहित ३ मत रहेको छ । सबैभन्दा कम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग १ पालिका प्रमुख र उप प्रमुख मात्र गरी जम्मा  दुईवटा मत रहेको छ । 

    उनीहरु आजै (शुक्रबार)निर्विरोध रुपमा निर्वाचित भएपनि आधिकारिक रुपमा भने असार ५ गते मात्र निर्वाचित भएको प्रमाण–पत्र पाउने जनाइएको छ।


No comments:

Post a Comment