Wednesday, June 29, 2022

सर्लाहीमा पहिलोपटक स्वचालित मेसिनले रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइयो




मनोज यादव---

सर्लाही,असार १५

    सर्लाहीमा धान रोप्ने स्वचालित  मेसिनबाट रोपाइँ गरेर उन्नाइसौं राष्ट्रिय धान दिवस मनाइएको छ ।

    परापुर्वकाल देखिनै  परम्परागत रुपमा हातले धान रोप्ने परम्परा रहेको भएपनि नयाँ प्रविधिको विकाससँगै स्वचालित मेसिनले पनि धान रोप्न सकिने  भन्ने संदेश दिन साथै कृषिलाई यान्त्रिकरण गर्ने उद्योगले राष्ट्रिय धान दिवसको अवसर पारेर पहिलोपटक सर्लाहीमा साना किसान कृषि सहकारी संस्था लिमिटेड शंकरपुर तथा कविता एग्रो बिरगंजको सहयोगमा तेलवाली अनुसंधान कार्यक्रम सर्लाहीले  स्वचालित मेसिनबाट धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन्।

    जिल्लाको लालबन्दी नगरपालिका वडा न-१ नवलपुरस्थित तेलबाली अनुसंधान कार्यक्रम केन्द्रको परिसरमा रोपाइँका लागि तयार पारिएको खेतमा बागमती नगरपालिका शंकरपुरमा रहेको साना किसान कृषि सहकारी संस्थाको कस्टम ह्यारिङ्ग सेन्टरबाट ल्याएको मेसिनले धान रोपिएको थियो।

   कृषि यन्त्र परिक्षण तथा अनुसंधान केन्द्रका प्रमुख एवं बरिस्ठ बैज्ञानिक ई.रामनाथ झाले बेर्नादेखि बेर्नाको दुरी १४ देखि १६ सेन्टिमिटरसम्म हुने भएकोले मेसिनले कम गाँज दिने धान लगाउन समेत उपयोगी हुने बताए।यसबाट एक घण्टामा १० कठ्ठा रोप्न सक्ने भएकोले समयको समेत बचत हुने उनले बताए ।हातले धान रोप्दा खेत पुरै सम्याउनु नपरेपनि मेसिनबाट धान रोप्नु अगाडि खेतलाई एकै नासले सम्याउनु पर्छ।जसले गर्दा बीउ एकैनासले खस्छ,ईन्जिनियर झाले भने।

   पछिल्लो समयमा कृषि क्षेत्रमा मजदुरको समस्या बढी देखिएको छ । मेसिनले त्यो समस्या समाधानमा सहयोग पुर्‍याउने तेलबाली अनुसंधान कार्यक्रमका संयोजक डाक्टर सुवास सुवेदीले बताए। मेसिनबाट धान रोप्दा समय,लागत र जनशक्ति कम लाग्ने भएकोले  पारम्परिक तरिकाले गरेको  कृषिकार्यको भन्दा ५० प्रतिशत कम लागत लाग्ने र समयमा पनि ७० प्रतिशत बचत हुने उनले दाबी गरे ।

  नवलपुरको तेलबालीमा आयोजना भएको धान रोपाइँ अवलोकन गर्न आएका किसानका प्रतिनिधि जंगबहादुर महतोले अहिलेको वर्तमान अवस्थामा गाउँघरमा लेवर मजदुरहरुको धेरैनै अभाव रहेको र  युवापुस्ताहरु पनि रोजगारीको लागि विदेशतर्फ उडेकाले अहिलेको परिवेशमा खेतीपाती गर्न समस्या उत्पन्न भएकोले यस किसिमका कृषि यन्त्रहरुको माध्यमबाट खेतीपाती गर्न हामीजस्ता किसानहरुलाई सहज हुने बताए ।

    पछिल्लो वर्षहरुमा असार १५ गते हातले रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाउँदै आएकोमा यस वर्ष कृषिलाई आधुनिकिकरण गर्दै किसानहरुलाई यन्त्रद्वारा कृषिकार्य तर्फ आकर्षित गर्न सर्लाही जिल्लामै पहिलोपटक मेसिनले रोपाइँ गरेर यो दिवस मनाएको आयोजकले जनाएको छ।






No comments:

Post a Comment