Monday, June 20, 2022

मलंगवामा अटो चालकहरूले मनपरी भाडा असुल्ने गरेको यात्रुहरूको गुनासो बढ्यो



---एक किलोमिटरको भाडा सय रुपैयाँ भन्दाबढी तिर्न बाध्य---



मनोज यादव---- 

सर्लाही,असार ६

     सर्लाहीको सदरमुकाम मलंगवामा  अटो चालकहरुले मनपरी भाडा असुल गर्ने गरेको यात्रुहरुले गुनासो गरेका छन्।

    संघ तथा युनियन बिनानै मलंगवा नगर क्षेत्र र मलंगवा बाहिर छोटो दुरीमा गुड्ने अटोका चालकहरु सम्बन्धित  निकायले बेवास्ता गर्दा सोझासाझा यात्रुहरुसँग मनपरी भाडा असुल गर्ने गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

   पछिल्लो केही वर्षदेखि तिनपाँग्रे प्याडलवाला रिक्सहरु विस्थापित भएर अटो चल्न थालेका छन् । अटो चल्न थालेको दिनदेखिनै मलंगवा नगरपालिकाले नगर क्षेत्र भित्र गुड्ने अटोको न्यूनतम भाडादर तोकेको छैन ।त्यसैको फाइदा उठाउँदै अटो चालकहले मनपरी भाडा असुल्ने गरेको मलंगवा नपा-९ स्थित बसपार्कमा किराना पसल संचालन गरेका एक ब्यापारीले बताए ।उनले बसपार्कबाट  मलंगवाको वडा न-२ स्थित जिल्ला प्रहरी कार्यालयसम्म जाँदा प्रति यात्री २ सय देखि २ सय ५०  रुपैयाँसम्म असुल्ने गरेको बताए ।जबकी बसपार्कदेखि जिप्रका सम्मको दुरी २ किलोमिटर पनि छैन ।यस्तै बसपार्कदेखिनै नेपाल भारत सिमा नजिक पर्ने गोरखकाली प्रहरी चौकीसम्म पनि २ सय भन्दाबढी भाडा असुल्ने गरेका छन् । 

   अटो चालकहरु एउटा यात्रीसँग प्रति किलोमिटर १ सय रुपैयाँ भन्दाबढी असुल्ने गरेको छ।नगरपालिकाले प्रति किलोमिटरको हिसाबले भाडा दर नतोकिदिँदा चर्को भाडा तिर्नुपरेको बसपार्कमै पसल संचालन गरेका अर्का एक स्थानीय प्रत्यक्षदर्शीले बताए ।

     मागे जतिको भाडा नदिंदा अटो चालकहरु  यात्रुहरुसँग सार्वजनिक स्थानमै झगडा र गालिगलौज समेत गर्ने  गरेको  मलंगवा-२ की मुक्ता यादवले बताइन् । अटो चालकले जति भाडा माग्यो त्यतिनै  तिर्नुपर्ने बाध्यता रहेको उनले सुनाइन्। 

   कुनै युनियनसँग आबद्ध नभएका र संघ नभएका यस्ता अटो चालकहरुको मनमानी दिनप्रतिदिन बढ्दै गइरहेकोले यसलाई रोक्न बसपार्कसहित नगरको विभिन्न चौक,चौराहा,अटो स्टैण्ड तथा  यात्रु चढाउने र ओराल्ने लगायतका सार्वजनिक स्थानहरुमा  भाडादर तोकेर भाडादर लेखिएको बोर्ड सार्वजनिक रुपमा सबैले देख्ने गरि राख्नुपर्ने सुझाव  स्थानीय बुद्धिजीवीहरुले मलंगवा नपा र सरोकारवाला निकायलाई दिएका छन्।



No comments:

Post a Comment