Thursday, May 14, 2020

दैनिक उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना गरेर दोब्बर तेब्बर भाउमा बिक्री गर्दै मलंगवाका व्यापारी ,अनुगमन हुनुपर्ने उपभोक्ताहरुको माग

सर्लाही ,जेठ १ गते । 
      जब देशमा संकट पर्छ बजारमा अभाव सिर्जना हुन्छ, तब तब केही व्यापारीलाई कमाउने ठूलो मौका मिल्छ । देश अप्ठयारोमा परेका बेला वा दुःखमा व्यापारीले मौका छोप्ने प्रवृत्ति पुरानै हो ।विनाशकारी भूकम्पका बेला होस् वा नाकाबन्दीका बेला । व्यापारीले त्यस्तै समयमा दैनिक उपभोग्य सामग्रीमा अत्यधिक कालोबजारी गर्ने गरेका छन्।
     कोरोना भाइरसका कारण नेपाल भारत सिमानाका बन्द भएर सामान आउन ठप्प भएको भन्दै केही व्यापारीहरु अतिआवश्यक  सामानको भाउ  मनपरि रुपमा बढाएका छन् ।विशेष गरी दैनिक उपभोग्य सामग्री दाल, चामल, नुन, तेल, बिस्कुट, चाउचाउ, तरकारीको , फलफुल, माछा , मासु अण्डा , मरमसला र औषधिमा व्यापक कालोबजारी बढेको उपभोक्ताहरुले  बताए ।अहिले दैनिक उपभोग्य वस्तु  किन्ने उपभोक्ताको पसलहरुमा  भिड लाग्न थालेको छ । यो भिड कुनै उपभोग्य वस्तुको आयात घटेर वा अभाव सिर्जना भएर होइन, अनावश्यक अनुमान र हल्लाका कारण त्यस्तो भीड बढेको हो । सरकारले कुनै पनि समानको अभाव नहुने र आयात पनि नरोकिने  भन्दै आए पनि ब्यापारीहरु  सरकारको भनाइलाई बेवास्ता  गर्दै दैनिक उपभोग्य  खाद्यान्नको कृत्रिम अभाव श्रृजना गरि  मनपरि दाममा उपभोक्ताहरुलाई सामान बिक्री गरिरहेको पाइएको छ ।
      बजारमा अनावश्यक हल्ला चलाएर कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने सर्लाहीको व्यापारीहरूको प्रचलन नै भइसकेको मानवअधिकारकर्मी सुन्दरश्याम यादवले बताए । ‘व्यापारीले छिट्टै धेरै नाफा कमाउने बहानामा संकटको समयलाई अवसरको रुपमा लिने गर्छन । उनले भने, ‘अहिले पनि  लकडाउन तथा नेपाल भारत सिमानाका बन्द भएको बहानामा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने काम भइरहेको छ ।लकडाउन घोषणाको दुइ महिना हुनै लाग्दा बजारमा चामल, दाल, मैदा, चिनी,तेल लगायत खाद्य सामग्रीको मूल्य बढेको छ ।  तरकारीको भाउ  पहिलेकै अवस्थामा आए पनि खाद्य वस्तुको मूल्य बढेको उपभोक्ताको गुनासो छ ।सर्लाहीको सदरमुकाम मलंगवा सहित जिल्लाका सबै शहर बजारका  ब्यापारीहरु  अहिले सबैखाले खाद्य वस्तुमा दोब्बर - तेब्बर मूल्य बढाएर बिक्री गरिरहेको पाइएको छ । बजारमा खाद्यान्नको भाउ थोक ब्यापारीले गर्दा बढेको  खुद्रा व्यापारीहरुले बताएका छन् ।थोक ब्यापारीले नै भाउ बढाएपछि हामीलाइ पनि बाध्य भएर भाउ बढाउनु परेको उनीहरूले भने ।
    बजारमा अहिले अनुगमनको खाँचो छ, मलंगवाका स्थानीय समाजसेवी राजेश पासवानले बताए । लकडाउन समयमा उपभोक्ता मूल्यमात्रै नभएर गुणस्तर र नापतौलमा पनि ठगिएको पासवानले  बताए । यो समयमा बजारमा खाद्यान्न कम आएको भन्दै म्याद सकिएका सामान समेत बिक्री हुनसक्ने भएकाले बजार अनुगमन हुनुपर्ने उनले बताए । कृत्रिम अभाव सिर्जना गर्ने, वस्तुहरूको मूल्यबृद्धि गर्ने तथा मुनाफा कमाउने ढङ्गले बजारलाई प्रभावित पार्ने ब्यापारी  विरुद्ध स्थानीय प्रशासनलाई   कठोर रुपमा प्रस्तुत हुन समाजसेवी  पासवानले सुझाव दिए ।

No comments:

Post a Comment