Sunday, May 17, 2020

लकडाउनमा कर्मचारी र श्रमिकको तलब नकाटिने ,ऋण लिएर भएपनि तलब खुवाउन आदेश



काठमाडौँ ,जेष्ठ ४ ।
      कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्व लकडाउनमा छ । नेपालपनि यसको चपेटामा परेको छ । यो बेला कतिपयले आर्जन गर्न सकेका छैनन् । कतिपय ब्यापार, उद्योग, कलकारखाना बन्द छन् । त्यसमा काम गर्ने श्रमिक र कर्मचारीपनि घरमा बसेका छन् । घरमा बसेका श्रमिक कर्मचारीलाईपनि तलब खुवाउन आदेश भएको छ । लकडाउनका कारण उत्पन्न भएको समस्याको कारण ५० प्रतिशत तलब कटौती गर्ने निजी क्षेत्रको प्रस्ताव सरकारले अस्विकृत गरिदिएको छ ।
सरकारले तत्कालको लागि ५० प्रतिशत तलब दिएपनि व्यवसाय सुरु भएपछि बाँकी ५० प्रतिशत तलब रोजगारदाताले दिनुपर्ने व्यवस्था गरेको छ । ‘रोजगारदाताले बैशाख महिनाको तलब ५० प्रतिशत तत्काल भुक्तानी दिएर बाँकी ५० प्रतिशत तलब ऋण लिएर भएपनि दिनुपर्ने छ,’सरकारले गरेको निर्णयमा भनिएको छ ।
यसको लागि राष्ट्र बैंकले उद्योग प्रतिष्ठानलाई सहुलियत दरमा ऋण लिनको लागि पुनरकर्जाको व्यवस्था मिलाउने काम अर्थमन्त्रालयले गरेको जनाएको छ । सरकारले लकडाउनको कारण दीर्घकालिन प्रभाव पार्ने पर्यटन क्षेत्रले समेत तलब कटौती गर्न नपाउने जनाएको छ । पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग प्रतिष्ठानले ५० प्रतिशत तलब दिएर बाँकी ५० प्रतिशत तलब खुवाउनको लागि सहुलियत दरमा ऋण लिन सक्नेछन् ।
लकडाउनको बिदामा बसेका कसैको पनि तलब काट्न नपाइने, सार्वजनिक बिदा मानिने
तलब खुवाउनको लागि तलब पारिश्रमिकमा २०७६ पुस मसान्तमा पेश गरेको सम्बन्धित कर्मचारीको करकट्टीको विवरण पेश गर्नुपर्ने हुन्छ । सामाजिक सुरक्षा कोषमा दर्ता भएका उद्योग प्रतिष्ठानले रोजगारदाता र श्रमिकले बैशाखमा बुझाउनुपर्ने रकम असार मसान्तभित्रमा बुझाएमा हुने व्यवस्था गरेको छ । चैत महिनाको रकम भने सरकार आफैले तिरिदिएको थियो ।
निजी क्षेत्रका व्यवसायीहरुले लकडाउन अवधीभर ५० प्रतिशतमात्र तलब दिने प्रस्ताव गरेका थिए । तर,श्रमिक संगठनले भने यस्तो प्रस्ताव खारेज गरेको थियो । केही दिन अगाडि गृहमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर सरकारी निकाय तथा उद्योग प्रतिष्ठानले लकडाउनको कारण घरमा बस्नु परेका कर्मचारी र कामदारलाई सार्वजनिक बिदामा यसलाई गणना गर्नुपर्ने र तलब सुविधा काट्न नपाउने व्यवस्था गरेको थियो ।

No comments:

Post a Comment