Sunday, May 10, 2020

उखुको भुक्तानी लागि लिएर दुई पक्ष बिच झडप ,११ जना घाईते

लोकतन्त्र समाचारदाता-----
सर्लाही , बैशाख २८ ।
     सर्लाहीको धनकौल गाउँपालिकामा चिनी मिलबाट किसानको भुक्तानीको विषयलाई  आइतवार बिहान दुई पक्षबीच झडप हुँदा ११ जना घाईते भएका छन्।
    केही दिन अगाडि अन्नपुर्ण चिनी उद्योग धनकौलको गोदाममा रहेको चिनी लिन मध्यरातमा चारवटा ट्रक किसानले नियन्त्रणमा लिएका थिए ।सोही ट्रक छाड्न र किसानको बाँकी भुक्तानि दिलाउने विषयमा छलफल भइरहेको अवस्थामै झडप भएको हो । नेपाल कम्युनिष्ट पार्टीका नेता अजय कुमार सिंहले किसानले भुक्तानि पाउने आधार तय गरेर मात्रै ट्रक छाड्ने अडान लिएपछि  नेपाली काँग्रेसका कार्यकर्ताले विरोध गरेपछि झडप सुरु भएको हो । झडप हुनुमा एकले अर्को पक्षलाई आरोप लगाएका छन् । आफूहरुले बिक्री गरेको उखुको भुक्तानि नदिएसम्म ट्रक नछाड्ने अडान किसानले लिएका छन् ।
     किसानले नियन्त्रणमा लिएका ट्रक धनकौल गाउँपालिका स्थित ईलाका प्रहरी कार्यालय हरकठवा र बसबरिया गाउँपालिका स्थित प्रहरी चौकी भवानीपुरमा राखिएका छन् । शनिवार मात्रै जिल्लाका सुरक्षा अधिकारी सहित सबै सरोकारवालाबीच छलफल गरी चिनी बिक्री हुनासाथ सबै किसानलाई न्यूनतम ५० हजार रुपियाँ प्रदान गर्ने सहमति जुटिसकेको अवस्थामा अचानक विवाद उत्पन्न  भएको थियो  । प्रत्यक्षदर्शीका  अनुसार सहमतिका बारेमा आइतवार बिहान भुक्ततानी लिन बाँकी रहेका किसानलाई जम्मा पारेर छलफल भइरहेको  बेला काँग्रेसका  कार्यकर्ताहरु ढुङ्गामुढा सहित आएर आक्रमण गर्दा स्थानीय विष्णु प्रसाद सिंह, नितेश सिंह, सुरेश सिंह, जोगेन्द्र सिंह, खुशीकान्त झा , रामेश्वरी देवी ,मुकेश साह, मोहन राय, अमरेन्द्र कुमार साह, इलियाम मन्सुरी र शम्भु साह
घाईते भएका छन् । घाइतेहरु मध्ये केहीको बरहथवा र केहीको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ ।
      प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले समस्या समाधान गर्न पहल भइरहेको र थप विवाद हुन नदिन धनकौलमा सुरक्षाकर्मी बढाइएको जानकारी दिए । अन्नपूर्ण चिनी मिलले  तीन-चार वर्षदेखिको भुक्तानि नदिँदा पटक–पटक किसानहरु आन्दोलित हुँदै आएको छ ।

No comments:

Post a Comment