Friday, May 22, 2020

लकडाउनका कारण तरकारीले बजार नपाएपछि बारीमै कुहिन थाले



लोकतन्त्र समाचारदाता-----
सर्लाही ,जेष्ठ ९ गते ।
     ढुवानी गर्ने साधनको अभाव र  बजारको अभावले गर्दा  व्यावसायिक तरकारी खेती गर्ने सर्लाहीका  किसानको तरकारी बिक्रीमा समस्या आएपछि उत्पादन भएका तरकारी बारीमै कुहेर खेर जान थालेको छ। लकडाउनका कारण जिल्लाका अधिकांश साप्ताहिक हाटबजारहरु लाग्न छाडेपछि  यस्तो समस्या आएको किसानहरुले बताएका छन् ।
    कोरोना संक्रमण फैलिने डरले गाउँघरका  हाटबजारमा मानिसको चहलपहल बन्द हुँदा यहाँ उत्पादित तरकारी खेतबारीमै सुक्न थालेका छन् । साप्ताहिक रुपमा लाग्ने हाट र अन्य स–साना बजारहरु बन्द भएपछि व्यवसायीका तरकारी खेती गर्दै आएका  यहाँका  किसानहरु मारमा परेका हुन् । उत्पादन भएका तरकारी  बजारसम्म पुर्याउने  साधनको समेत अभाव हुँदा आफुहरुले उत्पादन गरेको  तरकारीहरु खेतबारीमै कुहिन थालेको कविलासी नगरपालिका वडा न-९ सलेमपुरका किसान जोगी महतोले गुनासो गरे । उत्पादीत तरकारीहरु बिक्रीका लागि बजार सम्म लान नसकेकोले पशुचौपायालाई खुवाउनु परेको किसान महतोले भने ।साहु सँग केही पैसा ब्याजमा लिएर सुरु गरेको तरकारी खेतीबाट आम्दानी हुनुको साटो साहुको ब्याज तिर्न समेत नसक्ने अवस्था आएको छ , सलेमपुरकै अर्का किसान ठगा रायले बताए । घर गर्जो टार्न समेत समस्या परेको उनीहरुको गुनासो छ ।
    व्यावसायिक रूपमा लगाएको तरकारी बाली सदरमुकाम लगायतका स्थानमा ढुवानी गर्न नपाँउदा किसानले लगाएको तरकारी त्यसै खेर गएको छ । बजार बन्द भएपछि बोंडी, लउका,भिन्डी, खिरौला , रामझिंगनी ,भन्टा  काँक्रो, करैला ,साग , हरियो खुर्सानी , टमाटर  लगायतका तरकारीबालीहरु बारीमै कुहिएको देखिन्छ । बढी मात्रामा तरकारी उत्पादन हुने  खेतीपातीको यो सिजनमा लकडाउन भएपछि बिउबिजन तथा मलखाध  ल्याउन नसकिएको व्यवसायीक तरकारी खेती गर्ने किसानहरुको गुनासो छ ।आम्दानीको मुख्य श्रोत तरकारी खेती भएका किसानहरुको लागि यो लकडाउन अभिशाप बनेको छ ,रिपोटर्स क्लब नेपाल प्रदेश न-२ का संयोजक बख्तियार अलीले भन्नुभयो।
    तरकारी बिक्री नभएपछि घर खर्च टार्नसमेत समस्या हुन थालेको कृषकको गुनासो छ । दिनरात  मेहनत गरेर उत्पादन गरेको तरकारी   बिक्री नभएपछि सस्तोमा दिनुपर्ने र पशुचौपायालाई खुवाउनु पर्ने किसानहरुले बताएका छन् ।कहिलेकाहीँ केही ब्यापारीहरु खेतबारीमा आएर लगिहाले पनि उत्पादन धेरै भएको र माग थोरै भएपछि व्यावसायिक रूपमा तरकारी खेती गर्ने किसानहरु समस्यामा परेको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।






No comments:

Post a Comment