मनोज यादव-----
सर्लाही ,जेठ ३ ।
सर्लाहीको दक्षिण–पश्चिम भेग कै ठूलो बजारको रुपमा रहेको बरहथवामा कोरोना संक्रमण लाई मध्यनजर गर्दै शुक्रबारदेखि खाद्यान्न पसल व्यवसाय समेत बन्द गरिएको छ ।

यस्तै पुर्व पश्चिम राजमार्गमा पर्ने सर्लाहीको प्रमुख बजार लालबन्दीका बैंकहरु अब हप्तामा दुई दिन मात्रै खुल्ने भएका छन् । नगरभित्रका बैंकका प्रतिनिधि र नगरपालिकाका पदाधिकारीहरुबीच गत बिहिवार भएको छलफलबाट अत्यावश्यक कामका लागि हप्तामा दुई दिन आइतवार र बुधवार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंकहरु सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सिनाले बताए ।
मन्त्री परिषद्को बैठकले बैंक तथा बित्तीय संस्थामा कर्मचारीको संख्या बढाउने निर्णय गरेपछि लालबन्दीका सबै जसो बैंक केही दिनदेखि दैनिकजसो खुलिरहेका थिए । सामाजिक सुरक्षा भत्ता लिन यहाँका केही बैंकहरुमा सेवाग्राहीको भीड नै लागेको थियो ।
यसैगरी हरिवन नगरपालिकाले पनि शुक्रवारदेखि जेठ ५ गतेसम्म आईतवार एक दिन बिहान ११ बजेदेखि १ बजेसम्म खोल्न र अन्य दिन नगर भित्रका सबै बैंक, सहकारी र बीमा संस्थाहरु बन्द गर्न सूचना जारी गरेको नगरप्रमुख गणेश प्रसाईले लोकतन्त्रलाई जानकारी दिनुभएको छ ।
उता सर्लाहीको दक्षिणी भेगका पर्ने गोडैता नगरपालिकाले कोभिड–१९ को बढ्दो प्रकोपलाई मध्यनजर गर्दै बिहीबारबाट जेठ ५ गतेसम्मका लागि नगरपालिकाको अति आवश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको नगरप्रमुख देवेन्द्र यादवले बताएका छन् । जिल्लाका अन्य केही पालिकाले पनि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेका छन् ।
No comments:
Post a Comment