Sunday, May 17, 2020

कोरोनाको प्रभावले सर्लाहीको होटल व्‍यवसाय ठप्प, व्‍यवसायी मारमा




मनोज यादव-----
सर्लाही ,जेठ ४ गते
     चीनको बुहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिले पूरा विश्व नै त्रसित भइरहेको अवस्था छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि त्रासको वातावरण  फैलिएको छ।  कोरोना भाइरसले संक्रमणले विश्वको अर्थतन्त्र हल्लाइरहेको बेला नेपालमा पनि त्यसको असर देखा परेको छ। नेपालमा रहेका होटल,लज तथा रेष्टुरेन्ट लगायत आर्थिक कारोबार हुने क्षेत्रमा  यसको ठुलो प्रभाव परेको छ।
     नेपाल सरकारले देशभरि लकडाउन गरेर जनतालाई  भिडभाड हुने ठाउँमा नजान आग्रह गरेसँगै सर्लाही  जिल्लाका  होटल तथा लजहरु सुनसान भएका छन्  । भ्रमण वर्षको सुरुवात मै आएर देश लकडाउन भएपछि यहाँका होटल तथा लजहरु ठप्प भएका छन् । जसले गर्दा आफ्नो खेतबारी बैंक तथा वित्तीय संस्थामा धितो राखेर  होटलमा लगानी गरेका होटल संचालकहरुमा ठुलो आर्थिक मार परेको छ ।नेपाल भ्रमण वर्ष 2020 लाई लक्षित गरेर होटल संचालनको लागि बैंक तथा वित्तीय संस्थाबाट उठाएको श्रृणको ब्याज समेत चुक्ता गर्न धौ-धौ परेको उनीहरूले गुनासो गरेका छन् ।



     विशेषगरी भारतबाट प्रदेश न-२ मा रहेका  जनकपुरधाम, धनुषाधाम,बारा जिल्लाको गढिमाई , सप्तरीको छिन्नमस्ता लगायतका धार्मिक स्थलको भ्रमण तथा बिरगंज , लहान,  , भरतपुर , काठमाडौं जस्ता ठुला शहरमा औषधि उपचारका लागि आउने भारतीय नागरिकहरुले भरिभराउ रहने सर्लाहीको सदरमुकाम मलंगवाका होटल तथा लजहरु अहिले सुनसान भएका छन । झण्डै दुई महिना लामो समयदेखिको  लकडाउनले गर्द भिन्न पालिका, एनजीओ ,आइएनजिओ र राजनीतिक दलहरुको  गोष्ठी, सेमिनार, बैठक तथा  विवाह समारोह लगायतका लागि बुक हुने  मलंगवा, लालबन्दी र हरिवनका होटलहरु बन्द हुने अवस्थामा पुगेको छ ।अझ केही महिना यसैगरी लकडाउन रहिरह्यो भने  ठुलो लगानी गरेर खोलिएका सुविधा सम्पन्न होटलहरुको लगानी डुब्ने खतरा बढेको मलंगवा स्थित कुशुम पार्टी प्यालेसका संचालक नागेन्द्र प्रसाद चौधरीले  बताए ।



      कोरोनाका कारण अहिले सबै खाले  कार्यक्रमहरु स्थगित हुँदा सर्लाहीका  होटल व्यवसाय झनै सङ्कटमा परेको व्यवसायीको भनाइ छ । अहिले विवाह लगनको समय चलिरहेकोले यहाँका होटलहरु  विवाह समारोहका लागि बुक हुने गरेको छ ।  तर कोरोनाले गर्दा टुंगो लागि सकेको  वैवाहिक कार्यक्रमहरु समेत रद्द हुनथालेकाले आफुहरुको  व्यवसाय नै धरापमा परेको व्यवसायीले गुनासो गरेका छन् ।


    भ्रमण वर्ष 2020 लाई लक्षित गरेर ग्राहकहरुलाई आकर्षित गर्न घरजग्गा समेत बैंककमा राखेर सुविधा सम्पन्न होटल बनायौं ,अब केही प्रगति होला कि  भन्ने सोचेका थियौँ ,तर यति नै बेला देशमा कोरोना संकट देखियो, कमाइ त परै जावोस् ,कर्मचारी पो कसरी  पाल्ने   चिन्ता हुन थालेको छ ।मलंगवा कै नेपाल भारत होटल एण्ड लजका  संचालक मिराज मिकरानीले गुनासो गरे ।



लकडाउनको अवधी बढ्दै गइरहेकोले  अधिकांश होटल संचालकले भएका कर्मचारीलाई समेत बिदा दिएका छन् ।  सर्लाहीको ठुलो सानो दुबै खाले होटलमा कार्यरत १ हजार जना भन्दा बढी मजदुरको रोजगारी अहिले सङ्कटमा परेको होटल व्यवसायी संघ सर्लाहीका प्रतिनिधि रवीन्द्र साहले भने ।

     













No comments:

Post a Comment