Sunday, May 31, 2020

खाद्यान्न बोक्ने गाडीबाट २२ लाखको गुट्खा बरामद


रौतहट ,जेष्ठ १८
कोभिड १९ को कारण मुलुकभरी लागू भएको बन्दाबन्दीको अवधीमा सुर्तिजन्य पदार्थ ओसार पसार गर्न पूर्ण रुपमा प्रतिबन्ध लागेपनि अवैध रुपमा व्यापारीले मगाएको २२ लाखको गुट्खा रौतहट प्रहरीले आईतवार नियन्त्रणमा लिएको छ।
खाद्यान्न ओसार्ने अनुमती लिएरका गौरका प्रख्यात व्यापारी अरुण सरावगीलाई कपिलबस्तु जिल्लाको चन्द्रौटाबाट चामलको ट्रकमा करिब एक सय बोरा पानकिंग गुट्खा ल्याएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । उनले अवैध गुट्खा ल्याएको  गोप्य सूचना पाउना साथ उक्त सवारी साधनलाई गौर नगरपालिका वडा नम्वर २ स्थित तैयव नरसिंग होम अगाडीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सरकारले रोक लगाएपनि व्यापारी सरावगीले बन्दाबन्दीको  मौका छोपी खाद्यान्न सामग्री बोक्ने गाडीहरूमा पानकिंग गुटखा ल्याइरहेको अवस्थामा रौतहट प्रहरीले २२ लाखको सामान नियन्त्रणमा लिएको रौतहट प्रहरीका प्रवक्ता भरतबहादुर श्रेष्ठले जानकारी दिए ।
सार्वजनिक तथा मालवाहक गाडीहरू नगुड्दा पास भएका तथा खाद्यान्न ओसार पसारको अनुमती पाएका गाडीमार्फत अवैध कारोवार गरिरहेको प्रहरीको अनुसन्धानमा खुलेको छ । कपिलबस्तुको चन्द्रौटाबाट गौर आएको लु२ख ३३४३ नम्बरको ट्रकलाई प्रहरीले चेकजाँच गर्दा उक्त ट्रकमा चामल, लुगा धुने सर्फ सँगै भारी मात्रामा पानकिङ्ग गुटखा बरामद गरिएको छ ।
बरामद भएको सो गुटखाको मूल्य करीब २२ लाख रहेको तथा गुटखासहित ट्रक एवं चालकलाई आवश्यक कारवाहीको लागि गौर भन्सारमा पठाइए पनि त्यहाँ बुझ्न नमानेपछि कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भएको डिएसपी श्रेष्ठले बताए ।
गुट्खा वेवारिसे अवस्थामा बरामद भएपछि प्रहरीले उक्त सामान कसको हो भने अनुसन्धान गर्दा गौरकै गुट्खा, सेतो केराउको कारोवार गर्ने अरुण सरावगीको रहेको पत्ता लगाउन साथ निजलाई पनि नियन्त्रणमा लिएर कारवाही अगाडी बढाइएको उनले जानकारी दिए । सरावगीलाई लकडाउन उलंघन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय रौतहटमा कारवाही चलाउने तयारी भएको समेत डिएसपी श्रेष्ठले स्पष्ट पारे ।
बरामद भएको गुट्खासहित एउटै मुद्दामा ट्रकलाई कारवाहीको लागि राजस्व कार्यालय  र व्यापारीलाई जिल्ला प्रशासनमा पठाइएको छ । यस विषयमा डिएसपी श्रेष्ठ संग सोध्दा उनले जवाफ दिन मानेनन् ।
बन्दाबन्दीको समयमा गुट्खाको अवैध कारोवार फस्टाएको व्यापक जनगुनासो आएपछि जिल्लाभरी स्पेशल टोली परिचालन गरेर अवैध रुपमा मदिरा तथा गुट्खा ओसारपसार गरिरहेकालाई धमाधम नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाउने कार्य निरन्तर रुपमा जारी रहँदा कारोवारहरू नियन्त्रण हुदै गएको प्रहरीले जनाएको छ ।
            महोत्तरी पोष्ट अनलाइनबाट

No comments:

Post a Comment