Saturday, May 16, 2020

प्रदेश २ को राजधानी जनकपुरको क्वारेन्टाइनमा जनावर जस्तै व्यवहार(तश्विरमै हेर्नुस् )


जनकपुरधाम,जेठ ३ गते
    कोरोना भाइरस संक्रमणको आशंका गरिएका मानिसलाई राख्न जनकपुरधाम उपमहानगरपालिकाले बनाएको क्वारेन्टाइनमा जनावर सरह व्यवहार हुने गरेको आरोप लगाइएको छ ।
सरकारी मापदण्ड विपरीत जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित स्वस्तिक हस्पिटलमा सञ्चालित सो क्वारेन्टाइनमा सरसफाइको कुनै व्यवस्थापन नरहेको विगत तिन दिनदेखि त्यहाँ रहेकी एक महिलाले बताइन् ।उनले भनिन– ‘सरकारले कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न शंकास्पद व्यक्तिलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा सुरक्षित तथा व्यवस्थित तरिकाले राख्न मापदण्ड बनाएको छ । तर जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको यो ठाउँ क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ विपरीत रहेको छ ।’
आफ्नो पति नर्सिंग क्याम्पसस्थित आइशोलेसनमा रहेको र आफु आफ्नो ५ बर्षीय र २ बर्षीय दुई बच्चासहित उक्त क्वारेन्टाइनमा छिन् ।
‘बच्चाहरु दूई दिनदेखि घरबाट ल्याएको बिस्कुट र चाउचाउ खाएर बसेका छन् । तिन दिनदेखि यहाँ बसेको छु तर सफाइ कर्मचारीको अहिलेसम्म मुख पनि हेरेको छुईन्’– उनले भनिन– ‘के हामीले कुनै अपराध गरेको हो र ?
जेल जस्तो व्यवहार खेप्नु परिरहेको सुनाउँदै उनले भनिन– ‘खाना पुर्याउन आउने व्यक्तिहरु गेटबाटै कुकुरलाई दिएजस्तै खाना फालेर भाग्छन ।’
क्वारेन्टाइनमा कोठाको व्यवस्थापन गर्दा एउटा खाटदेखि अर्को खाटसम्मको न्युनतम दूरी ३.५ फिट हुनुपर्ने नियम सरकारले तोकेको छ । क्वारेन्टाएनमा बस्नेहरुका लागि स्वास्थ्य,सञ्चार,पानी र विद्युतको व्यावस्था गर्नुपर्ने हुन्छ । तर यहाँ एउटै कोठामा ११ जनालाई एकमिटर भन्दा पनि कम डिस्टान्समा राखिएको उनले दुःखेसो सुनाइन् ।
क्वारेन्टाइनमा बस्नेहरुका लागि बिहान ७ः३० देखि ८ बजेसम्म चिया र खाजा, बिहान ११ः३० देखि १२ बजेसम्म दिवा खाजा, दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म खाजा र बेलुकी ७ः३० देखि ८ बजेसम्म रात्री खाना व्यवस्था गरिने सरकारी मापदण्डमा तोकिएको छ ।
खानाको व्यवस्था गर्दा स्थानीय उपलब्धतालाई मध्यनजर गरी स्वस्थ्यकर खानाको प्रबन्ध मिलाउनुपर्ने उल्लेख छ । तर उपमहानगरले बनाएको यस क्वारेन्टाइनमा साँझ बिहान पनि खाने प्रबन्ध नभएको व्याप्त गुनासाहरु छन् ।
‘कम्प्लेन गर्दागर्दै आफुहरु थाकिसकेपनि सुन्नेबाला कोही छैन’– उनले भनिन् ।



No comments:

Post a Comment