Sunday, May 17, 2020

भारत सँग सिमा जोडिएको सर्लाहीका १३ स्थानमा सशस्त्र प्रहरीको उपस्थिति ,तर पनि अवैध प्रवेश रोकिएन



लोकतन्त्र समाचारदाता------
सर्लाही ,जेठ ४ ।
     भारतसँग सीमा जोडिएको सर्लाहीको १३ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै लगेको हो । जिल्लाको भारतसँग सीमाना जोडिएका ५१ किलो मिटर दूरीमा सशस्त्र प्रहरी बलले आफ्नो पोष्ट खडा गरी सीमा क्षेत्रमा दिनरात पहरा दिइरहेको छ ।
   १६ वटा बेस क्याम्प र ८२ वटा ड्युटी पोष्ट बोर्डरमा करिब ८० देखि १०० मिटरको दूरीमा ५०० जना सशस्त्र प्रहरीलाई ड्युटीमा खटाइएको सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा कार्यालय सर्लाहीले जनाएको छ । भारतबाट अवैध रूपमा नेपाल प्रवेश नरोकिए पछि सीमा क्षेत्रमा बिओपी, ड्युटी पोष्ट र बेसक्याम्प स्थापना गरिेएको सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा कार्यालय सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले बताउनुभयो । खुल्ला सीमानाका  र पछिल्लो क्रममा भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेका कारण सीमा क्षेत्रमा थप सतर्कता अपनाइएको भए पनि आपराधिक क्रियाकलापमा भने खासै परिवर्तन आउन सकेको छैन । करिब ३ देखि ५ किलोमिटर दूरीमा करिब ५०० जनशक्ति बोर्डरको लागि परिचालन गरिएको भए पनि खुला सिमानाका कारण लुकीछिपी नेपालमा लागुऔषध तथा हातहतियार भित्रने क्रम निरन्तर भइरहेको छ ।
      सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिले अवैध नेपाल प्रवेशमा कमी आएको जिकिर सशस्त्र प्रहरीको भए पनि उनीहरूको आँखा छलेर नेपाल प्रवेश गर्ने क्रम भने अझै रोकिएको छैन । अवैधरूपमा नेपाल प्रवेश गर्ने क्रम नरोकिँदा सङ्क्रमणको जोखिम पनि बढ्दै गएको छ भने नेपालमा गैरकानूनी क्रियाकलाप त्यत्तिकै भइरहेका छन् । त्यस्तै भारतमा लकडाउन खुकुलो भएपछि अवैधरूपमा नेपाल भित्रिने क्रम  थप बढेको छ ।



1 comment:

  1. समाचार कपि गर्दा कि स्रोत खुलाउनु कि साभार लेख्नु कि इडिट गर्नु राम्रो होला ।साथीहरु
    https://www.kamalamaikhabar.com/news/390

    ReplyDelete