Friday, May 22, 2020

सर्लाहीमा एकैसाथ १५ जना कोरोना संक्रमणको पुष्टि, संक्रिमितको संख्या २० पुग्यो





लोकतन्त्र समाचारदाता---
सर्लाही,जेठ ९ गते।
     सर्लाहीमा आज एकै साथ १५ जना नयाँ  कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै सर्लाहीमा संक्रमितको संख्या २० पुगेको छ ।
    सर्लाहीको सदरमुकाम मलंगवादेखि पश्चिम-दक्षिण क्षेत्रमा पर्ने  गोडैता नगरपालिका र रामनगर गाउँपालिका क्वारेन्टाइनमा बसेकाहरु मध्ये १५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभएको छ । गोडैता नगरपालिकामा १४ जना र  रामनगर गाउँपालिकामा १ जना गरी १५ जनामा कोरोना संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभयो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको  विज्ञप्तिमा गोडैता नगरपालिकाको वडा नं. १३ र १४ मा पनि कोरोना संक्रमित व्यक्ति भएको  उल्लेख गरिको भएपनि उक्त नगरपालिकामा ति वडाहरु  नभएको गोडैता नगरपालिकाका मेयर देबेन्द्र यादवले जानकारी दिनुभयो ।मन्त्रालयको  बिज्ञप्ति त्रुटि पुर्ण रहेकोले सर्लाहीमा कोरोना संक्रिमित व्यक्तिको संख्या हेरफेर समेत हुन सक्ने  अनुमान  गरिएको  छ । संक्रमित व्यक्तिहरु केहीदिन अगाडि भारतको विभिन्न प्रान्तबाट आएर  क्वारेन्टाइनमा बसेको नगर प्रमुख  यादवले जानकारी दिनुभयो ।
    संक्रमित १५ जना ब्यक्तिको सम्पर्कमा आएकाहरुको खोजतलास भइरहेको र सम्पर्कमा  आईसकेपछि उनीहरूको  पनि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाईने प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।

     यस अघि पनि रामनगर गाउँपालिका बहुअर्वा   गाउँकै १८ वर्षिया युवतीमा कोरोना संक्रमण देखिसकेको छ ।यो सँगै  धनकौल गाउपालिकामा एकजना १४ वर्षिय बालक, हरिपुर्वा नगरपालिकामा वडा नं ३ धनकौलमा एकजना ४५ वर्षिय व्यस्क, हरिवन –९ नयाँरोड डेरा गरी बस्ने उदयपुरका ३४ वर्षिय र बागमती–९ शंकरपुर सोल्टी बस्ने २७ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भैसकेको छ । संक्रमित सबैजनाको स्वास्थ्य अवस्था समान्य रहेको र संक्रमित व्यक्तिहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको प्रजिअ जिसीले जानकारी दिनुभएको छ।एकैसाथ ठुुलो संख्यामा कोरोना भाइरस संक्रमण देखिएपछि त्यस क्षेत्रमा अहिले त्रासको माहोल छाएको छ ।सो क्षेत्रमा सिल गर्ने तयारी भइरहेको बताइएको छ ।

No comments:

Post a Comment