Wednesday, June 3, 2020

भारतमा रहेका नेपाली नागरिक ल्याउन सर्लाहीको मलंगवा सहित २० नाकाबाट अनुमती



लोकतन्त्र समाचारदाता----
सर्लाही ,जेष्ठ २१
     कोरोन भाइरस (कोभिड– १९) का महामारीबाट अहिले सारा विश्वका नागरिकहरु जुधिरहेका छन् ।अधिकांश मानिसहरू बन्दाबन्दी (लकडाउन) को मारमा  छन्, यसबाट भारतमा  रहेका नेपालीहरु पनि अछुतो छैनन् । भारतका विभिन्न प्रान्तमा रोजगारीका लागि गएका हजारौं  नेपाली नागरिकहरु कोरोना भाइरसको संक्रमणमा परेका छन् ।सरकारले उनीहरुलाई स्वदेश ल्याउन तयारी थालेको छ ।
     यसका लागि सरकारले भारतमा रोजगारी, अध्ययन र अन्य कामका लागि गएका नेपालीलाई आउनका लागि २० वटा नाकाहरु तोकेको छ ।भारतबाट आएका नेपाली नागरिकलाई नाकामा ‘होल्डिङ सेन्टर’मा आएर आफ्नो विवरण भर्ने व्यवस्था गरेको छ । जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७’ को २ नम्बर बुँदामा प्रदेश न-२ मा सर्लहीको मलंगवा ,महोत्तरीको भिट्ठामोड,रौतहटको गौर,पर्साको बिरगंज ,सप्तरीको कुनौली,सिरहाको माडर नाका तोकेको छ ।त्यस्तै इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको रानी,  नवलपरासी पश्चिमको महेशपुर, रुपन्देहीको बेलहिया, कपिलवस्तुको तौलिहवा र कृष्णनगर, बाँकेको जमुनाहा, बर्दियाको सुरजपुर गुलरिया, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको दार्चुला नाकाबाट आउन अनुमति दिएको छ ।
   यसअघि कोरोना नियन्त्रण तथा रोकथामका लागि नेपाली सेनालाई संविधानको धारा २७६ (४) अनुसार परिचालन गर्ने निर्णय गत १७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।सरकारले तयार पारेको कार्ययोजनामा नेपाल प्रवेशबिन्दुको विवरण तयार पार्नेदेखि लिएर स्वास्थ्य परीक्षण गर्नेसम्मका काम सुरक्षित ढंगले कसरी सम्पन्न गर्ने रहेको जनाइएको छ ।२६ वटा शीर्षक बनाएर भारत र तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई दैनिक ३ हजार ५ सयको दरले प्रत्येक दिन ल्याउने कार्ययोजना सरकारले बनाएको जनाइएको छ ।
    भारतबाट आउनेहरू तोकिएका विभिन्न नाकामा आइसकेपछि गृहमन्त्रालय मार्फत नाकाका जिल्ला प्रशासन कार्यालयले विवरण तयार पार्ने छ   ।स्वदेश  फर्कनेहरुलाई सरकारले एउटा सीमकार्ड पनि उपलब्ध गराउन लागेको छ, त्यसैको आधारमा आफ्नो जिल्लामा फर्किएका मानिसहरूको विवरण र गतिविधिको निगरानी गर्नेछ । आफ्नो पालिका पुगेपछि क्वारेन्टाइनमा राख्ने र फेरि कोरोना परीक्षण गर्ने जिम्मा भने सम्बन्धित  पालिकाको नै हुनेछ । पालिकाहरूले व्यवस्था गरेको क्वारेन्टाइनमा बस्दा शुल्क लाग्ने छैन भने होटलको क्वारेन्टाइनमा बस्दा भने आफैंले पैसा तिर्नुपर्ने हुन्छ । फर्कनेहरुले यातायात भाडा भने व्यक्ति स्वयंले तिर्नुपर्ने हुन्छ ।स्वास्थ्य परीक्षणमा कोरोनाको संक्रमण देखिएको खण्डमा सिमानाका बाटै अस्पतालमा लगिने छ ।
     स्वदेश फर्केका नागरिकलाई सरकारले जिल्ला सदरमुकामसम्म मात्र पुर्‍याउने व्यवस्था गरेको छ भने सदरमुकामबाट स्थानीय तहले आफ्नो पालिकासम्म लग्ने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्ने बताइएको छ  ।

No comments:

Post a Comment