Tuesday, June 16, 2020

सरकारले सर्लाही जिल्लालाई पुर्ण लकडाउन घोषणा गरेपनि खुल्न थाले मलंगवा बजार व्यवसायीहरु भन्छन्– सतर्कता अपनाएर पसल खोल्न पाउनुपर्‍यो*बिशेेेष समाचार *विशेष समाचार

व्यवसायीहरु भन्छन्– सतर्कता अपनाएर पसल खोल्न पाउनुपर्‍यो 

*बिशेेेष समाचार *

लोकतन्त्र समाचारदाता-----

सर्लाही ,असार २


    कोरोना भाइरस(कोभिड १९) को कारणले गर्दा गत चैत्र ११ गतेदेखि नेपाल सरकारले गरेको लकडाउनको घोषणा अनुसार  झण्डै ३ महिनादेखि बन्द रहेको सर्लाहीको सदरमुकाम स्थित मलंगवा  बजार विस्तारै खुल्न थालेको छ । लकडाउनका कारण व्यापार व्यवसाय चौपट भइ आर्थिक मारमा परेको भन्दै सरकारले गरेको लकडाउनको निर्णयलाई लत्याएर   व्यवसायीहरूले आफ्ना व्यवसाय, पसल खोल्न थालेका छन ।

   गत जेष्ठ २७ गते जिल्लामा कोरोना संक्रमणको रोकथाम ,नियन्त्रण तथा उपचार लगायतका कार्यहरु प्रभावकारी ढंगले छिटो ,व्यवस्थित र समन्वयात्मक रुपमा गर्नका लागि जिल्ला स्तरमा गठित जिल्ला स्तरीय संरचनाको बैठकले  प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म  खाद्यान्न सामाग्रीको वितरण गर्ने पसल बाहेकका अन्य सबै पसलहरु खोल्न नपाइने निर्णय गरेका थिए  ।समितिले गरेको उक्त निर्णयको   चौतर्फी विरोध तथा आलोचना  हुन थालेपछि उद्योग वाणिज्य संघ मलंगवाले सरकारको उक्त घोषणाको पालना गर्ने क्रममा सर्वसाधारण र व्यापारीहरुको जनजिवन दिनप्रतिदिन अति कष्टकर हुँदै गएको साथै दैनिक जिविकोपार्जन गर्न समेत कठिनाइ भएको उल्लेख गर्दै बजार खोल्न पाउनुपर्ने माग राखेर  प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा जिल्लाका अन्य पालिका अन्तर्गतका बजारहरु समय मिलाएर खुलिरहेको साथै प्रदेश नम्बर २ को  राजधानी जनकपुर र आर्थिक राजधानी बिरगंजमा पनि सबै खाले पसलहरु निश्चित समयको लागि खुलिरहेकाले मलंगवा बजार पनि खोल्न पाउनुपर्ने उल्लेख गरिएको छ ।जबकी सरकारले जिल्लामा लगातार  संक्रमितहरुको संख्या बढेको अवस्थालाई देखेर यस जिल्लालाई रेडजोनमा राखेर पुर्ण लकडाउन गर्न घोषणा गरिसकेको छ ।तर जनप्रतिनिधिहरुको सुस्तताका कारण मलंगवा बजारलाई पुर्ण लकडाउन गर्न सकिएको छैन ।बजारको भिडभाडालाई हेर्दा कोरोना संक्रमणको जोखिम उच्च रहेको जानकारहरु बताउँछन् ।

     पसल खोल्ने क्रममा  यहाँका व्यापारीहरुले सतर्कता अपनाएका छैनन् ।पसलहरुमा सामाजिक दुरीको पालना गरिएको छैन ।बजारमा भिडपनि अघिपछिका दिनहरु भन्दा बढी नै देखिन्छ । औषधि , खाद्यान्न,फलफुल तथा इन्धनका पसल सहित  मासु पसल , निर्माण सामग्रीका पसल, मोबाइल पसल, कपडा पसल, मदिरका पसल तथा होटलहरू खुलेका छन् । केही दिनयता पसल खुल्ने क्रम बढेसँगै बजारमा चहलपहल पनि बढेको छ । एकदुई दिन पहिला गल्ली र टोलमा रहेका केही सानातिना पसलहरु मात्र खुल्दै आएपनि अहिले बजारको सबै मुख्य चौक र सडकमा रहेका पसलहरु बिहान ६ बजेदेखि साँझ अबेर सम्म खुल्न थालेका छन् ।

    यसअघि प्रहरीको आँखा छलेर आधा सटर मात्र खोलेरै भएपनि पसल खोले पनि ब्यापार भने केही हुँदैन थियो ।प्रहरीले पसल खोलेको देखेपछि बन्द गर्न दबाब दिने गरेका थिए । मलंगवा स्थित बसपार्कमा फेन्सी पसल चलाइरहेका  व्यापारीहरु लकडाउनका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुग्न लागेको बताउँछन् । सटर भाडा तिर्न समस्या भएपछि केही दिनयता भने सटर खोल्न थालेको उनीहरुले सुनाए । उनहरुले पसल बन्द गर्ने भन्दा व्यवस्थित गरेर खोल्ने व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् । पसल खोल्न सहज बनाइदिए कोरोनाबाट जोगिन अपनाउनुपर्ने सतर्कता अपनाउन आफूहरू तयार रहेको पनि उनीहरुले बताए । “तर, अब पसल बन्द गरेर बस्न सक्ने अवस्था छैन । दिनभर पसल नखोले पसल सधैंका लागि बन्द गर्नुपर्ने अवस्था छ,” उनीहरुले गुनासो गरे । 

     मेडिकल र किराना पसल दिनभर खोल्न दिई   अरू पसलहरु बन्द गराएर स्थानीय प्रशासनले आफुहरुमाथि अन्याय गरेकोे मलंगवाकै मोबाइल पसलेहरुले पनि गुनासो गरेका छन् ।उनीहरु बजार बन्द नगरी आवश्यक सुरक्षा अपनाएर खोल्नुपर्ने बताउँछन् । “यसरी बन्द मात्र गरेर कहिलेसम्म  गर्ने ? अब यसरी हुँदैन । आवश्यक सतर्कता अपनाएर पसल खोल्न दिइनुपर्छ,” व्यवसायीहरुको भनाइ छ, “सरकारले लकडाउन थपिरहने हो भने व्यवसायीले त्यसलाई उल्लंघन गर्नुपर्ने अवस्था आइसकेको छ ।” उनहरु लाखौं लगानी गरेको व्यवसायमा ताला लगाएर आफूहरू कहिलेसम्म बस्नुपर्ने भन्दै सरकारलाई प्रश्न पनि गरेकाछन् । 

       लकडाउनका कारण पसलहरू बन्द हुँदा व्यवसायीहरूले मारमा परेको गुनासो गर्दै आएका छन् । बजार बन्द हुँदा किसानले गरेका उत्पादनले समेत बजार नपाउँदा किसानहरू मारमा परेका छन् । कोरोना महामारीबाट जोगिन बजार बन्द गर्ने र सतर्कता अपनाएर खोल्नु पर्नेमा व्यवसायीहरूले जोड दिन थालेका छन् ।


No comments:

Post a Comment