Friday, June 19, 2020

सर्लाहीमा पालिकाहरुले ‘क्वारेन्टाइन’ तथा आइसोलेसन व्यवस्थापनमा लापरबाही गरेको भन्दै विरोध प्रदर्शन सुरु




सर्लाही ,असाढ ५
      सर्लाहीमा पालिकाहरुले क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापनमा लापरबाही गरेको भन्दै  क्वारेन्टाइनहरुमा विरोध प्रदर्शन हुन थालेको छ । त्यहाँ  बसेका ब्यक्तिहरु सम्बन्धित पालिकाका जनप्रतिनिधिहरुले  क्वारेन्टाइन तथा आइसोलेसनको व्यवस्थापनमा ध्यान नदिइ बेवास्ता गरेको भन्दै उनीहरू  प्रदर्शनमा उत्रिन थालेका हुन् ।
       उनीहरूले पालिका प्रमुख तथा वडा प्रमुख विरुद्ध  नाराबाजी गर्ने, क्वारेन्टाइनबाट बाहिर निस्केर डेक्स, बेन्च ,खाट तथा काठका मुढाहरु तेर्साएर सडक जाम गर्ने ,भौतिक सामाग्री नष्ट गर्ने जस्ता कार्यहरु गर्न थालेका छन्  ।सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका सहित जिल्लाको चन्द्रनगर गाउँपालिका,विष्णु गाउँपालिका, बलरा नगरपालिका , गोडैता नगरपालिका , कविलासी नगरपालिका लगायतका स्थानीय तहका क्वारेन्टाइनहरुमा विरोध प्रदर्शन भएका छन् । क्वारेन्टाइनमा बसेका शंकास्पद ब्यक्तिहरु खानपान राम्रो नभएको , बस्ने व्यवस्था राम्रो नभएको , पिसिआर परिक्षणको रिपोर्ट आउन ढिला भएको, जनप्रतिनिधिहरुले बेवास्ता गरेको  लगायतका मागहरु राखेर उनीहरू विरोध प्रदर्शन गर्दै आएका छन् ।
     क्वारेन्टाइन तथा आइसोलेसनमा बसेकाहरू मात्र नभइ आसपास बस्तीका स्थानीय बासिन्दाहरु पनि पालिका विरुद्ध उत्रिन थालेका छन् । क्वारेन्टाइन तथा आइसोलेसनहरुमा रहेका शंकास्पद र बिरामीहरुको  रेखदेखका लागि स्वास्थ्यकर्मी , सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरु समेत नरहेकाले त्यहाँ  रहेका व्यक्तिहरु बाहिर निस्केर जथाभावी घुमफिर गर्ने,पसलमा जाने, सामान किन्ने गरेकाले आसपासका बस्तीमा त्रास फैलिएको स्थानीयहरुले गुनासो गरेका छन् । यस समस्याबारे पालिका प्रमुख र वडा प्रमुखलाई जानकारी गराए पनि कुनै सुनुवाइ नभएको स्थानीयहरुले गुनासो गरे ।  ‘क्वारेन्टाइनमा बसेका मानिस साँझ परेपछि समूह बनाएर बाहिर घुम्न निस्कने गरेको ,’ स्थानीयहरुले बताए ।

No comments:

Post a Comment