Sunday, June 21, 2020

पर्सा गाउँपालिकाको कार्यालय भवन पर्सा बजारमा बन्न लागेको भन्दै स्थानीयहरु द्वारा विरोध प्रदर्शन

गाउँ परिसदको बैठकबाट निर्णय भए रै नयाँ कार्यालय भवन बन्न लागेको हो--गापा अध्यक्ष किशुनदेव राय

==============================================


सर्लाही ,असाढ ७ 

      सर्लाहीको पर्सा  गाउँपालिकाको कार्यालय भवन पर्सा बजारमा बन्न लागेको भन्दै केही स्थानीयबासीहरुले त्यसको विरोध गरेका छन् ।नयाँ बन्न लागेको कार्यालय भवन सबैलाई पाएक पर्ने ठाउँमा बनाउनुपर्ने माग राखेर त्यसको विरोध स्वरूप  केही स्थानीय बासिन्दाहरुले शुक्रवार कार्यालय समेत घेराउ गरेका छन्।बुधबार शिलान्यास गरिएको उक्त भवन पर्सा बजार स्थित साविकको वडा कार्यालयमा संचालन हुँदै आएको गाउँपालिकाको कार्यालय भएको स्थानमा बन्न लागेको हो ।

      पर्सा गाउँपालिका वडा न-४ निवासी संजय कुमार यादवको अध्यक्षतामा  समिति गठन गरि हाल निर्माण  भइरहेको कार्यालय भवनको निर्माण कार्य उक्त स्थानबाट सारेर सबै वडाका बासिन्दालाई पाएक पर्ने स्थानमा सुरु गर्ने माग राखेर विरोध गरेका छन् ।साविकको संग्रामपुर , पर्सा, जिंगडवा र नारायणपुर गाविस मिलेर बनेको पर्सा गाउँपालिकामा छ वटा वडाहरु रहेका छन् ।कविलासी र नारायणपुरको पुर्व पट्टी रहेको स्थानमा कार्यालय बनाउनुपर्ने साविक पर्सा गाविस वडा न-२ संग्रामपुरका भुपु गाविस अध्यक्ष गंगाधर रायले भने ।उनले नारायणपुरमा कार्यालय बनाउँदा सबै वडाका बासिन्दालाई  मात्र २ किलोमिटरको दुरी तय गर्नुपर्ने र सेवाग्राहीहरु लाई पनि सहज हुने बताए ।

   उता गाउँपालिका अध्यक्ष किशुनदेव रायले पर्सा बजारमा बन्न लागेको गाउँपालिकाको कार्यालय भवन आफ्नो एकलौटी निर्णयबाट नभइ  ६ वटै वडाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले गाउँ परिषदको बैठकबाट परित गरेको सामुहिक निर्णयबाट बन्न लागेको प्रष्ट पार्नु भयो ।६ वटै वडाका जनताहरुको प्रतिनिधित्व गर्नुभएका वडा अध्यक्षहरुले आफ्नो जनताको भावना र इच्छा अनुसारनै पर्सा बजारमा कार्यालयको भवन निर्माण गर्नु पर्ने भन्ने निर्णयमा हस्ताक्षर गरेका हुन , उहाँले बताउनुभयो ।एकलौटी निर्णय गर्ने आफ्नो कुनै अधिकार नभएकोले वडा अध्यक्षहरुले नै गरेको निर्णयमा आफुले पनि सहमति जनाएको गापा अध्यक्ष रायले भने ।भवन निर्माणको लागि जग्गा खरिद गर्नुपर्ने तर  जग्गाको खरिद प्रक्रियाम प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर चल्ने भएकोले अहिले सो कार्य   बन्द भइसकेकोले यदी जनताले कार्यालयको भवन नारायणपुरमै बन्नु पर्छ भन्ने इच्छा जाहेर गरेका छन् भने यदि कसैले  भवन निर्माणको लागि आवश्यक पर्ने १५ कठ्ठा जग्गा  नारायणपुरमै उपलब्ध गराइ दिए नयाँ भवन सोही स्थानमा बनाउन आफुहरु तयार रहेको उहाँले बताउनुभयो ।

     हालको गाउँपालिका कार्यालय अगाडि रहेको गाउँपालिकाकै आफ्नो जग्गामा नयाँ भवन निर्माणका लागि यस वर्ष ८८ लाख रुपियाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष रायले जानकारी दिए । भवनको तल्लो तल्लामा बजार राख्ने र माथिल्लो तल्लामा गाउँपालिकाको कार्यालय संचालन गर्न मिल्ने गरी नयाँ भवन बनाउन लागिएको उहाँले बताउनुभयो ।पुरानो भवनमा रहेको तीन वटा कोठाबाट पूरै गाउँपालिका कार्यालय संचालन गर्नुपर्दा सेवा प्रवाहमा  समस्या भइरहेकोले नयाँ भवन निर्माण गर्न लागेको  गापा अध्यक्ष रायले बताए । बैंकहरु समेत पर्सा मै  रहेकाले कार्यालय संचालनको लागि उक्त  स्थान उपयुक्त हुने र जग्गा किन्ने झण्झटबाट पनि मुक्ति मिल्ने महसुस गरेरै यस्तो निर्णय पास गरिएको  वडाअध्यक्षहरुको भनाइ छ ।

    भवन निर्माणको विरुद्धमा उत्रिएका स्थानीयबासीहरु शुक्रवार बिहान केही बेर गाउँपालिका अगाडी प्रदर्शन गरि सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय नजिक सहिद चौकमा समेत प्रदर्शन गरेका थिए ।

     





No comments:

Post a Comment