Wednesday, June 24, 2020

प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञावलीद्वारा जिल्ला प्रहरी कार्यालय सर्लाहीको नवनिर्मित भवन उद्‍घाटन

Video समाचार


सर्लाही ,असाढ १०
     प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञावलीले जिल्ला प्रहरी कार्यालय सर्लाहीको नवनिर्मित कार्यालय भवनको उद्‍घाटन गरेका छन् । (आज)बुधबार उहाँले भवनको शीलालेखको अनावरण गर्नुको साथै निरीक्षण समेत गरेका हुन् ।
   अवसरमा प्रहरी महानिरीक्षक ज्ञावलीले  कानून सबैका लागि समान हुने चर्चा गर्दै कानून भन्दा माथि उठेर अपराध गर्ने सबैलाई प्रहरीले कानूनी दायरमा ल्याउने बताउनुभयो ।
विभिन्न स्थानमा नेपाल प्रहरीको अत्याधुनिक भौतिक संरचनाहरु निर्माण भइरहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले सबै पक्ष मिलेर नवनिर्मित भवनको संरक्षण गर्नुपर्ने समेत बताउनुभयो । समाजको सुरक्षामा समुदायको समेत सहभागिता आवश्यक भएकोले नेपाल प्रहरीले “समुदाय-प्रहरी साझेदारी”को अवधारणा ल्याएको चर्चा गर्दै उहाँले उक्त अवधारणा अन्तर्गत विभिन्न जनचेतनमूलक कार्यक्रम संचालनको लागि नागरिक समाजसँग हातेमालो गर्दै आगाडि बढेको बताउनुभयो ।उहाँले   कोरोना भाइरसको संक्रमणको अवस्थामा पनि जोखिम मोलेर काम गरेको भन्दै प्रहरी संगठनलाई  धन्यवाद ज्ञापन गर्नु भएको छ।
     सर्लाही प्रहरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले  शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा  २ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले धन्यवाद ज्ञापन   गर्नुभएको थियो । साथै कार्यक्रममा मलंगवा नगरपालिका नगर प्रमुख निरसल साहले  आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रहरी निरीक्षक इन्जिनियर चिरन्जिवी प्रताप महतोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कूल १२ करोड ४१ लाख २९ हजार ४ सय २० रुपैयाँ  लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय निकायका प्रमुखहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरु,  राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

 

No comments:

Post a Comment