Thursday, June 4, 2020

प्रेम सम्बन्धका कारण सर्लाहीमा पनि प्रेमिकाको अविभावकबाट एक प्रेमी कुटिए ,घाइते प्रेमी आइसियुमा भर्ना


लोकतन्त्र समाचारदाता ----
सर्लाही,जेष्ठ २२ ।
    अन्तरजातिय प्रेम सम्बन्धका कारण घटेको पश्चिम रुकुम जाजरकोट दलित हत्याकाण्ड सेलाउन नपाउँदै  सर्लाहीमा पनि एकजना  युवक  प्रेमिकाको अभिभावकबाट मरनासन्न हुने गरि कुटिएको छ । सर्लाहीको बागमती नगरपालिका वडा न-१० सोल्टी बजारका २० वर्षिय युवक  राजु कुशवाहालाई सोही नगरपालिका वडा न-८ की १८ वर्षिया  युवती सँग प्रेम सम्बन्ध गाँसेको भन्दै  प्रेमिकाका बुवा राम प्रसाद महतो र उनका चारभाई छोरा मिलेर मरनासन्न हुनेगरि निर्घात कुटपिट गरेको प्रेमीका आफन्त र  स्थानीयहरुले बताएका  छन् । निजलाई घरमै बोलाएर कुटपिट गरेको युवककी  भाउजु नाता पर्ने छिमेकी पुजा थापाले बताएकी छिन । भाउजु थापाका अनुसार कुशवाहालाई युवतीका बुवा रामप्रसाद महतो, दाजुहरु किसुनदेव, नन्दकिशोर, जय किशोर र विनोद महतोले शुक्रवार राति १० बजे घरमै बोलाएर बिहान २ बजे सम्म  विभिन्न किसिमले याताना दिँदै कुटपिट गरेका थिए । कुटपिटमा संलग्न युवतीका दाजु किसुनदेव वडा सदस्य रहेका छन्  भने अर्का दाजु नन्दकिशोेर नायव सुब्बा रहेको  स्थानीयले बताएका छन् ।  कुटपिटबाट युवकको शरीरका विभिन्न भागमा गम्भीर  चोट लागेको छ । उनलाई सल्किएको चुरोटको ठुटाले शरीरका विभिन्न भागमा पोल्नुका साथै धारिलो हतियारको  प्रयोग गरी शरिरका विभिन्न स्थानमा काटेर यातना दिएको बताइएको छ ।
    कुटपिटबाट गम्भीर घाइते भएका पिडित युवकको काठमाडौं स्थित न्युरो हस्पिटलको आइसियुमा राखेर उपचार भइरहेको आफन्तले जानकारी गराएको छ ।
     पिडित युवकको पहिलेदेखि युवतीको घरमा आउजाउ हुँदै आइरहेकोले घटनाको दिनपनि युवतीका बुवाले छोरीलाईनै फोन गरेर युवकलाई बोलाउन लगाएको युवककी आमा सावित्री देवीले बताइन ।  कुनै कामले बोलाएको होला भनेर आफुहरुले वास्ता नगरी सुतेको र राती छिमेकीले हल्ला गरे पछि मात्रै आफुहरुले  घटनाको बारेमा जानकारी आमाको भनाई छ ।  छोरालाई कुटेर उल्टै उनीहरुले नै प्रहरी बोलाएर चोरीको आरोप लगाउँदै छोरालाई स्थानीय प्रहरी चौकी लगेर थुन्न लगाएको उनले बताइन ।छोरालाई घरमा बोलाएर निर्घात  कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिंन खोज्दा प्रहरीले उजुरी लिन नमानेको पिडितकी आमाले गुनासो गरिन । प्रहरीले उजुरी लिन नमानेपछि दबाब दिन पिडित पक्षका स्थानीयहरुले युवतीको घर समेत घेराउ गरेका छन् ।  मरानासन्न हुने गरी कुटेर घाईतेलाई अस्पताल लैजानुको सट्टा हतकडी लगाएर प्रहरी चौकीमा लगेको, प्रहरीले किटानी जाहेरी लिन नमानेको, घटनाका दोषीहरुलाई भगाउन मदत गरेको भन्दै उनीहरुले युवतीको घर घेराउ गरेको पिडित पक्षका स्थानीयले बताएका छन् । घटनाले उग्र रुप लिएपछि बागमती नगरपालिकाका मेयर भरत थापाको उपस्थितीमा प्रहरीले घटनाको जाहेरी लिने र घटनाको अनुसंधान गरि दोषीलाई कारवाही गर्ने आवश्वासन पाए पछि त्यस क्षेत्रको अवस्था समान्य भएको छ  । घटनाको विषयमा अनुसन्धान भई रहेको र घटनामा संलग्न दोषीहरु उपर कारवाही  हुने सर्लाहीका  प्रहरी प्रमुख प्रहरी विउपरीक्षक विश्वमणि पोखरेलले बताउनु भयो । स्थानीयहरुले युवतीको घर घेराउ गरे पछि परिवार सहित घटनामा संलग्न रहेका जयकिशोर र अर्का एक जना प्रहरीको सम्पर्कमा आएका उहाँले जानकारी गराउनुभयो ।घटनामा संलग्न  वडा सदस्य किसुनदेव सहित अन्य तीनजना भने हाल फरार रहेकाले उनीहरुको समेत खोजी कार्य भई रहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनु भएको छ ।
     घटना दुःखद भएको र घटनामा संलग्न जो भए पनि कानुन अनुसार आवश्यक कार्वाही हुने बागमती नपाका मेयर थापाले बताउनु भयो ।घटनाका दोषी  जनप्रतिनिधिनै भएपनि निजलाई नेपाल सरकारको  कानुन अनुसार नै कार्वाही गरिने मेयर थापाले भने ।

No comments:

Post a Comment