Tuesday, June 23, 2020

लकडाउनमा स-परिवार सामाजिक दुरी कायम गरी बाली भित्राउन व्यस्त सर्लाहीका किसान ,यसरी मिलेर काम गर्दा आर्थिक भार कम भएको किसानको भनाई

कोरोना कहर....
===========

मनोज यादव-----
सर्लाही ,असाढ ९
      विश्व अहिले कारोना संक्रमणको महामारीबाट गुज्रिरहेको छ ।  देशभरमा लकडाउन घोषणा गरि घरबाट कसैलाई निस्कन मनाही गरिएको छ । तर किसानलाई खेतमा लगाएको तेलहन र दलहन बाली भित्राउने चटारो छ ।
    तराई मधेशको जिल्लाहरुमा उत्पादन हुने धान पछिको प्रमुख बाली गहुँ घरमा भित्राइसकेका किसानहरुलाई अहिले लकडाउनमै  खेतमा पाकिसकेको दलहन  बाली मुँग र तेलहन बाली तिल थन्क्याउन   खेतबारी गएर काम गर्नुपर्ने बाध्यता छ ।यसअघि लकडाउन सुरु भएको चैत्र र बैसाख महिनामा   लहरी,मसुर, केराउ, मटर, खेसारी लगायतका दलहन र तोरी,सरसो जस्ता तेहलन बाली लकडाउन मै भित्राइसकेका छन् ।


       सर्लाही मलंगवा नगरपालिकाका  किसान राजकिशोर रायले भने, 'खेतबारीमा धेरै जना हुँदैन, स्कुल क्याम्पस पढ्ने छोराछोरी र रोजगारीको सिलसिलामा घर बाहिर रहने परिवारका सदस्यहरु  लकडाउनका कारण सबै जना अहिले घरमै छन्, मजदुरलाई पैसा दिएर काममा लगाउनु भन्दा आफ्नै परिवारका सदस्यलाई बिहान-बेलुका खेतमा लगेर काम गरे काम हुने रहेछ ।'उनले घर नजिकै खेतबारी भएकोले परिवारकै सदस्य मिलेर सर्तकता अपनाउँदै खेतमा काम गर्न जाने गरेको बताए ।



       संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउन घोषणा गरेको तीन महिना भैसकेको छ । किसानहरु जोखिम मोलेरै  भएपनि खेतबारीमा काम गरिरहेका छन् । दलहन बाली भित्र्याइ सकेर  असारे धान रोप्ने तयारीमा रहेका सर्लाहीका किसानहरु घरकै सदस्यहरु मिलेर सामाजिक दुरी बनाएर धान रोपाइँ गर्ने बताएका छन् ।लकडाउनका कारण आर्थिक समस्याबाट जुधिरहेका किसानहरुलाई परिवारकै सदस्य मिलेर खेतबारीको काम गर्दा आर्थिक भार पनि केही कम भएको उनीहरूले बताएका छन् ।

             

No comments:

Post a Comment