Monday, June 22, 2020

पञ्च र आफन्तको दबाबमा बलात्कृत बालिका : अर्कैसँग गरिदियो विवाह


पञ्च र आफन्तको दबाबमा बलात्कृत बालिका : अर्कैसँग गरिदियो विवाह
काठमाडौँ ,असाढ ८
       सप्तरीकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् ।
तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
बालिकाले गाईबस्तुका लागि घाँस काट्न खोलाको चौरीतिर गएको बेला एक्लै भएको मौका पारी लालबहादुरले भुइँमा लडाई बलात्कार गरेको र उनकै गर्भ रहेको बताएपछि कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । विवाहित लालबहादुर एक छोरा र एक छोरीका बुवा हुन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण तथा भिडिओ एक्सरे गरिएको छ ।
यसअघि गाउँमा भएको पञ्चेती (छलफल) ले गर्भवती बालिकाको विवाह वैशाख २८ गते गाउँकै १८ वर्षीय किशोरसँग गरिदिएको स्थानीय गीता देवले बताइन् । ‘उतिबेला गाउँमा भएको पञ्चेतीमा बालिकाले एउटाको गर्भ रहेको बताउनुभयो, अहिले लालबहादुरको गर्भ भन्दै उजुरी दिनुभयो’, देवले भनिन्, ‘यसरी कुरो फेरेपछि गाउँभरि तनाव बढेको छ ।’
पीडितले गाउँको भेलामा पञ्चेती गर्ने बचाई मुखिया र किसुन मुखियाले सिकाए अनुसार आफूले उतिबेला झुटो कुरा बोलेको बताएपछि अनुसन्धानका लागि प्रहरीले पञ्चलाई समेत आइतबार नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो । बालिकाको बयानका आधारमा दुईजना पञ्चलाई समेत सोधपुछका लागि ल्याइएको र उहाँहरूलाई तारेखमा रिहा गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिए । उनका अनुसार लालबहादुरविरुद्ध बलात्कारको उजुरी दर्ता गरी थप अनुसन्धान थालिएको छ ।
बलात्कारको उजुरी दर्ता भएपछि अहिले पञ्च बालिकाको बयान परिवर्तन गराउन र बालिकाको विवाह आरोपितसँग गराई दिन सक्रिय भएका छन् । बालिकाले कहिले पञ्चले सिकाएर त कहिले विवाह गरेका किशोरको आमाले सिकाएर बोली परिवर्तन गरेको स्थानीय बासिन्दाको भनाइ छ । बालिकाले भने निकै दबाब र मानसिक तनावमा परेको बताएकी छन् ।

No comments:

Post a Comment