Thursday, June 4, 2020

सर्लाहीका समाजसेवी मनोज द्वारा आमाको स्मृतिमा ३ लाख रुपैयाँको अक्षयकोषको स्थापना



लोकतन्त्र समाचारदाता----
सर्लाही ,जेष्ठ २२
    सर्लाहीका समाजसेवी तथा युवा व्यवसायी एवं अप्सरा आचार्य मेमोरियल फाउण्डेशनका संरक्षक मनोज आचार्यले आमाको स्मृतिमा लालबन्दी नगरपालिका वडा न-१६ स्थित डिम जनता माविमा ३ लाखको अक्षय कोष स्थापना गरेको छ ।
     विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गौतमको अध्यक्षता तथा नेकपा सर्लाहीका ईन्चार्ज डाचाराज वाग्ले, सचिव कमल बुढाथोकी, नेता भरत गौतम, विद्यालय व्यवस्थापन समितिका अन्य पदाधिकारी, शिक्षाप्रेमी समेतको रोहवरमा एक कार्यक्रमको आयोजना गरी समाजसेवी आचार्यले अक्षयकोष स्थापनाको घोषणा गर्नु भएको हो । साथै उहाँले विद्यालयको सिकाई वृद्धिमा सहयोग पुर्याउने उदेश्यले २ थान ल्यापटप समेत सहयोग गर्नु भएको विद्यालयले जनाएको छ । विगतका वर्षहरुमा पनि विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आउनु भएका समाजसेवी आचार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबैले आ–आफ्नो स्थानबाट सकेको सहयोग गर्नु पर्ने दायित्वबोध गर्दै आफुले सो विद्यालयमा अक्षयकोष स्थापना गरेको लोकतन्त्रलाई बताउनु भएको छ ।
   अक्षय कोषबाट प्राप्त व्याज वापतको रकम समाजसेवी आचार्यकै परिवारका सदस्यहरुको रोहवरमा विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाई वृद्धिका लागि खर्च गरिने विद्यालयका प्रधानाध्यापक ध्रुव भण्डारीले जानकारी दिनु भयो ।
सोही कार्यक्रममा समाजसेवी आचार्यले  प्रयास वचत तथा ऋण सहकारी संस्था मार्फत संचालनमा आउने गरी  सो क्षेत्रको लागि एम्बुलेन्स समेत सहयोग गर्ने घोषणा गर्नु भएको छ ।उहाँले  यस अघि  लालबन्दी स्थित जनज्योती बहुमुखी क्यामपसमा पनि अक्षय कोषको स्थापना गर्नुको साथ साथै ल्यापटप  दिनु भएको थियो । त्यस्तै संयुक्त एम्बुलेन्स चालक संघलाई पिपिइ सेट, विभिन्न पालिकाहरुलाई खधान्न लगायतको सामग्रीहरु सम्बन्धित ठाउँमा हस्तान्तरण गरी सक्नु भएको बताइएको  छ ।

No comments:

Post a Comment