Sunday, June 7, 2020

सर्लाहीको कविलासी नगरपालिकामा आइसोलेसनका बिरामीहरु अलपत्र /छाना चुहिएर रातभर जाग्राम बस्नुपरेको बिरामीहरुको गुनासो । सुधार नगरे धर्नामा बस्ने चेतावनी


लोकतन्त्र समाचारदाता-----
सर्लाही ,जेष्ठ २५ गते ।
      प्रदेश नम्बर २ को सरकारले कोरोना विरुद्ध थालेको  अभियानमा करिब २ अर्ब रुपैया खर्च गरिसकेको दाबी गरे पनि यहाँका आइसोलेसन र क्वारेन्टाइनलाई व्यवस्थित बनाउन सकिएको छैन ।
      सर्लाहीको कविलासी नगरपालिका अगर्वा स्थित श्री जनता माध्यमिक विद्यालयको आइसोलेसन वार्ड मापदण्डअनुसारको नभइ अव्यवस्थित रहेको  त्यहाँ  रहेका बिरामीहरुले बताएका छन् ।उक्त आइसोलेसनमा भारतबाट आएका ४ जना  शंकास्पद र ३६ जना कोरोना संक्रमित  बिरामीहरुलाई आइसोलेट गरि राखिएको छ । कविलासीमा एकैसाथ ३६ जनामा संक्रमण देखिएपछि उनीहरूलाई  सदरमुकाम मलंगवामा  रहेको   ५० शैयाको अस्थायी कोरोना विशेष अस्पताल(आइसोलेसन)मा राख्न बेडको अभाव भएपछि उनीहरुलाई पहिलेदेखि बस्दै आएको  अगर्वा स्थित माविको क्वारेन्टाइनलाई नै आइसोलेसन वार्डमा बदलेर  ४ जना शंकास्पद ब्यक्ति सँग  राखिएको छ।
    उक्त  आइसोलेसनमा ४० जना बिरामीहरुको लागि रहेको  एउटा मात्र शौचालय दुर्गन्धले बसिनसक्नु छ । विद्यालयसँगै टाँसिएको खुल्ला चौर  आइसोलेसनमा बस्नेहरुका लागि खुला शौचालय बनेको छ ।एउटै कोठामा १५ जना भन्दा बढी बिरामीलाई कोंचेर राखिएको छ ।नगरपालिकाले हामीलाई  खाट त परै जावोस् ओढ्ने र ओछ्याउने समेत दिएको छैन । कक्षाकोठामा रहेका बेन्चहरुलाई जोडेर खाटजस्तो बनाएर जसोतसो सुत्नु परेको आइसोलेसनमा बसेका बिरामी  दिनेश यादवे बताए  । पानी परेको अवस्थामा ठाउँठाउँबाट फुटेका जस्तापाता चुहिएर आफुहरुलाई  रातभर जाग्राम बस्नुपरेको यादवले गुनासो गरे  ।
    आइसोलेसनमा बसेका अर्का बिरामी अरुण यादवका अनुसार क्वारेन्टाइनलाई आइसोलेसनमा बदलेर नगरपालिकाले राम्रो काम गरेपनि आवश्यक मापदण्ड भने पूरा गरेको छैन् ।बिरामीलाई  चाहिने पौष्टिक खाना र शुद्ध पानीको उचित व्यवस्था गरिएको छैन ।  समयमा खाना नदिंदा सानासाना बालबालिका र अरु रोहबाट ग्रसित ब्यक्तिलाई झनै समस्या हुने गरेको अरुण यादवले बताए ।आफै संक्रमीत हुने डरले बिरामीहरुको स्वास्थ्य जाँच र रेखदेखका लागि यहाँ  एकजना पनि कर्मचारी तथा  स्वास्थ्यकर्मी बस्न नचाहेकोले आइसोलेसनमा बसेको दिनदेखि हालसम्म एकपटक पनि आफुहरुको स्वास्थ्य जाँच नभएको बिरामीहरुले बताएका छन्।सम्बन्धित पालिकाका कर्मचारी तथा जनप्रतिनिधि आफुहरुको अवस्था बारे बुझ्न एकदिन पनि नआएको उनीहरूले बताएका छन्  । अव्यवस्थित आइसोलेसनमा बसेर कोरोनाबाट  मुक्त हुनुको साटो अरुनै कुनै रोगबाट ग्रसित हुने भयले हामीलाई सताएको छ, यादवले भने ।
    आइसोलेसनको सुधार र व्यवस्थापनका लागि  नगरपालिका र  सम्बन्धित बडाका वडाध्यक्षलाई पटकपटक आग्रह गर्दै  आएपनि उहाँहरुबाट आश्वासन मात्र पाएको आइसोलेसनका बिरामीहरुले बताएका छन् ।नामको मात्र आइसोलेसन बनाएर बिरामीहरुलाई अलपत्र पारेको बताउँदै अबपनि यसको सुधार गरिएनभने आइसोलेसन भित्रै आफुहरु धर्नामा बस्ने उनीहरुले चेतावनी दिएका छन् ।
    केही दिन अघि अगर्वा  क्वारेन्टाइनमा बसेका ५१ जना ब्यक्तिहरुहरु मध्ये एकजना भान्से सहित एकैसाथ ३६ जना ब्यक्तिमा  कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले सर्लाहीमा सदरमुकाम मलंगवामा ५० र हरिपुर नगरपालिकाको फरहदवामा १५ शैयाको  आइसोलेसन वार्डहरु रहेका छन भने कविलासीको आइसोलेसनमा शैयाको संख्या नतोकिएको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले जानकारी दिनुभएको छ।

No comments:

Post a Comment