Tuesday, June 9, 2020

लकडाउनमा आर्थिक मार झेलिरहेका सर्लाहीका उखु किसाने अनुदान रकम पाउने ।




सर्लाही ,जेष्ठ २७ गते
   बिगत लामो समयदेखि भुक्तानी र अनुदानको लागि आन्दोलन गर्दै आइरहेका सर्लाहीका उखु किसानलाई   सरकारले अनुदान रकम उपलब्ध गराउने भएको छ । कोरोना भाईरस (कोभिड १९) को विश्वव्यापी महामारीका कारण सरकारले गरेको लकडाउन(बन्दाबन्दी)को  मारमा परेका उखु  किसानहरुले  अनुदान पाउने भएपछि खुसी व्यक्त गरेका छन ।
     आर्थिक वर्ष २०७४-०७५ मा सरकारले मूल्य अभिवृद्धि करबाट प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान वापत दिंदै आइरहेकोमा  गत आर्थिक वर्ष २०७५-०७६ मा कर फिर्ताको व्यवस्था खारेज गरी प्रति क्विन्टल ६० रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो । विगत लामो समयदेखि सरकारले उखु किसानको अनुदान रकम उपलब्ध नगराई सरकारले पनि चिनी  उधोगीले  जस्तैै  विभेद गरेको भन्दै  अनुदान रकमको माग गर्दै सर्लाहीका  किसानहरु पटक पटक आन्दोलीत भएका थिए ।
गोडैता नगरपालिका स्थित महालक्ष्मी सुगर मिल बगदहबाट किसानहरुलाई गत सिजनमा आपूर्ति गरेको उखुको अनुदान रकम प्रती क्विन्टल ६५ रुपैँयाका दरले नेपाल सरकारबाट प्राप्त भएको र आउँदो साता देखि सो रकम भुक्तानी हुने गोडैता नगरपालिकाका मेयर  देवेन्द्र यादवले बताउनु भयो ।
  कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण आर्थिक अभावको चरम मारमा परेका   उखु किसानहरुका लागि सरकारले उपलब्ध गराउन लागेको अनुदान रकम  कुनै वरदान भन्दा कम नहेको सुन्दरपुरका उखु  किसान रामेश्वर प्रसाद साहले भने ।
      आउँदो असार १६ गतेसम्म सबै उखु किसानहरुको अनुदान रकम वितरण गरिसक्ने गोडैता नपका मेयर  यादवले बताए ।  महालक्ष्मी सुगर मिल बगदहले उपलब्ध गारउनु पर्ने रकम किसानहरुको खातामा पुगिसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसिले जानकारी गराउनुभयो। धनकौलमा रहेको अन्नपुर्ण चिनी उधोगले पनि  विवरण पेस गरेपछि किसानहरुको अनुदान रकम निजहरुकै  खातामा पठाउने प्रजिअ जिसिले बताउनुभयो ।

No comments:

Post a Comment