Monday, May 4, 2020

वैशाख २६ बाट लकडाउन खुकुलो पार्ने सरकारको तयारी , यातायात आंशिक चल्ने

काठमाडौं,बैशाख २२ 
     सरकारले वैशाख २६ गतेदेखि लकडाउनको स्वरुप परिमार्जन गर्दै संक्रमणको जोखिम कम देखिएका क्षेत्रमा खुकुलो बनाउने भएको छ ।लकडाउन खुकुलो पार्न स्वास्थ्य मन्त्रालयले प्रारम्भिक खाका तयार पारिसकेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए।सो खाकाअनुसार जोखिम कम भएका क्षेत्रमा कार्यालय तथा यातायातका साधन आंशिक रुपमा सञ्चालन हुनेछन्।जोखिम हेरेर सरकारले ती क्षेत्रलाई तीन भागमा वर्गीकरण गर्ने र सोही अनुसारको व्यवस्था लागू गर्ने तयारी रहेको स्वास्थ्य मन्त्रालयका ती अधिकारीले जनाए।२६ गतेदेखि लकडाउनलाई खुकुलो बनाउन प्रधानमन्त्रीले नै निर्देशन दिएपछि स्वास्थ्य र गृह मन्त्रालयले गृहकार्य गरिरहेको ती अधिकारीको भनाइ छ। उनका अनुसार संक्रमित भेटिएका क्षेत्र सिल गर्दै जाने र त्यहाँ आवतजावत पूर्ण रुपमा बन्द गरिने छ।हालसम्म उदयपुर, वीरगन्ज र नेपालगन्ज सिल गरिएको छ। यी ठाउँमा बढी संक्रमित भेटिएका थिए। आइतबार १५ संक्रमित भेटिएको नेपालगन्ज तत्कालै सिल गरिएको प्रहरीले जनाएको छ।कार्यालयहरु सञ्चालन गर्न दिइने भएपछि उपत्यकाका कार्यालयले साना गाडी रिजर्भ गरेर कर्मचारी ओसारपसार गर्न पाउने छन्। धेरै कर्मचारी भएका कार्यालयले ५० प्रतिशत मात्रै कर्मचारी कार्यालय आउने व्यवस्था गर्नु पर्नेछ।यस्तै निजी गाडी, ट्याक्सी र मोटरसाइकल चल्न पाउने छन्। मोटरसाइकलमा एक जना मात्रै र ट्याक्सीमा एक जना मात्रै यात्रु बोक्न पाइने छ।यस्तै आन्तरिक रुपमा उडान पनि सुरु गर्ने गर्ने योजना बनेको छ। कार्ययोजनाअनुसार विमानले क्षमताभन्दा आधा यात्रु बोक्न पाउने छन्।‘आन्तरिक उडान सुरु भएपछि विमानस्थलबाट जाने व्यवस्था पनि गर्न र्पयो, जोखिम कम भएका क्षेत्रमा छोटो दूरीका गाडी सञ्चालन हुन दिनैपर्छ,’ मन्त्रालयका ती अधिकारीले भने, ‘बिस्तारै लकडाउन खुकुलो पार्दै त्यसको प्रभाव हेर्दै जाने हो।’आन्तरिक उडान सुरु गर्न हवाई कम्पनीहरुसँग छलफल गरिने छ। यदि आंशिक उडान गर्न उनीहरु तयार भए स्वास्थ्य सामग्री ओसारपसार गर्न र आपत परेका यात्रु आउजाउ गर्न पाउने उनले बताए।उच्च जोखिम भएका क्षेत्रबाट भने आउजाउ गर्न दिइने छैन। अत्यावश्यक बाहेक अन्य ठाउँबाट समेत उपत्यकामा प्रवेश गर्न कडाइ गरिने छ।आंशिक रुपमा खुल्ला गरेपनि सरकारले लकडाउन भने लामो समयसम्म गर्ने तयारी गरेको छ। उद्योग तथा निर्माणका क्षेत्रहरु सञ्चालन हुनेछन्।डान्सबार, रेस्टुराँ, फिल्म हल, विद्यालय पूर्ण रुपमा बन्द हुनेछन्। भीडभाड हुने कार्यक्रम तथा विवाह, व्रतबन्ध, भोजभतेर गर्न पाइने छैन।

No comments:

Post a Comment