Monday, June 1, 2020

सर्लाहीमा आइतवार र बुधबार मात्र बजार तथा बैंकहरु खुल्ने निर्णय प्रभावकारी नभएको सर्वसाधारणहरुको गुनासो /भिड बढ्दा कोरोना संक्रमणको जोखिम


 सर्लाहीमा आइतवार र बुधबार मात्र बजार तथा बैंकहरु खुल्ने निर्णय प्रभावकारी नभएको सर्वसाधारणहरुको गुनासो /भिड बढ्दा कोरोना संक्रमणको जोखिम
        फोटो फिचर .....



मनोज यादव----
सर्लाही ,जेष्ठ १९ गते ।
      सर्लाहीका सर्वसाधारण जनताहरुले हप्ताको दुइदिन आइतवार र बुधबार  बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र जिल्ला भरका सबै खाले  बैंक तथा बजार खोल्ने निर्णय प्रभावकारी नभएको निष्कर्ष निकालेका छन् ।गत बुधबारबाट हप्ताको दुइदिन सिमित समयको लागि मात्र बैंक तथा बजार खुल्न थालेपछि बजारमा ठुलो भिड बढेको र यसबाट कोरोना संक्रमणको जोखिम समेत बढेको स्थानीय सर्वसाधारण जनताहरुले निष्कर्ष निकालेका हुन ।
      जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या एकाएक बढ्न थालेपछि यसको संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार द्वारा जारी लकडाउनको आदेशलाई जिल्लामा प्रभावकारी ढंगले कार्यान्वयन गर्ने विषयमा गएको सोमबार  जिल्ला समन्वय  समितिका सभापति मेथुर चौधरीको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख ,सशस्त्र प्रहरी प्रमुख,अनुसंधानका प्रमुख तथा  जिल्लाका २० वटै स्थानीय तहका प्रमुखहरु बिच बैठक बसेर जिल्लाभरका बैंक तथा बजार हप्ताको दुई दिन आइतवार र बुधबार बिहान १० देखि दिउँसो २ बजेसम्म मात्र खोल्न पाउने लगायतका ६ बुँदे निर्णयहरु गरिएको थियो ।उक्त निर्णयको पहिलो दिन गएको बुधबार बजारमा भिड केही कम भए पनि निर्णयको  दोस्रो दिन अर्थात आइतवार बैंक तथा बजारमा मानिसहरुको भिड ह्वात्तै बढेको थियो ।ग्राहक धेरै र समय कम भएकोले सदरमुकाम मलंगवाका   खाद्यान्न पसलहरुमा किनमेल गर्ने मानिसहरुको भिडलाई पसलेहरुले कन्ट्रोल गर्न सकेका थिएनन् ।जो कोहीलाई हतार भएको देखिन्थ्यो ।यस्तै भिड मलंगवा नगरभित्रका सरकारी तथा प्राइभेट बैंकहरुमा पनि देखिन्थ्यो ।यस किसिमको भिडलाई देखेर सरोकारवालाहरुले गरेको निर्णय गलत भएको स्थानीय भद्रभलादमीहरुले बताएका छन् । यस अघि प्रत्येक दिन बिहान र बेलुका केही घण्टाको लागि बजार र बैंकहरु खुल्दै आएका थिए ।जसले गर्दा भिड पनि कम हुनेगरेको थियो ।तर सरोकारवालाहरुले सर्वसाधारणहरुको मर्कालाई नबुझी  हतार हतारमा गरेको निर्णय सरासर गलत भएको जानकारहरुको भनाई छ । आफुखुसी निर्णय गर्नुको साटो एक पटक स्थानीय अगुवाहरु सँग बसेर छलफल गरेको भए सर्वमान्य निष्कर्ष निस्किने थियो , जानकारहरुले भने ।
      जिल्लाका कुनै पनि स्थानमा हाट बजार नलगाउने तथा तरकारी बिक्री वितरण सम्बन्धित बिक्रेताले ठेलामा वा अन्य प्रकारले घर–घरमा लगेर बेच्ने निर्णय पनि उचित नभएको तरकारी ब्यापारीहरुले बताएका छन् ।दिनभर टोलटोलमा घुमेर तरकारी बेच्नकाम सजिलो नभएको र मेहनत गरेर घरघरमा सागसब्वी पुर्याइदिए वापतको मूल्य समेत नपाउने तरकारी बिक्रेताहरुको गुनासो छ ।यस अघि साप्ताहिक हाटबजारमा गएर ताजा तरकारी तथा फलफुल किन्ने गरेका थियौं तर जुनदिन देखी यस्तो नियम लाग्यो घरमै ठेला र टोकरीमा सागसब्वीजी लिएर आउने ब्यापारी सँग किन्ने मन नहुँदा पनि मजबुरीबस् किन्नु परेको छ ।यसरी किनेका तरकारी तथा फलफुल बासी र बिग्रेका पनि पर्न जान्छ , मलंगवा न.पा वडा न-२ की गृहणी मुक्ता यादवले गुनासो गरिन् ।
    समग्रमा भन्नुपर्दा यस्तो निर्णय  सर्वपक्षीय नभएको र यसलाई तत्कालै सच्याउनु पर्ने अन्यथा अवस्था झन भयावह हुने स्थानीय बुद्धिजीवीहरुको भनाई छ ।
   

No comments:

Post a Comment