Sunday, March 14, 2021

सर्लाहीका बजारमा भारतबाट भन्सार छलेर ल्याएका सामानहरुको बोलबाला

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र १ 

    खुला सीमानाका कारण सर्लाहीमा अहिले व्यापक रुपमा चोरीतस्करी तथा लागुऔषधको ओसारपसार  बढेको छ । तस्करहरुले सिमापारीका भारतीय बजारबाट भन्सार छलेर लत्ताकपडा, खाद्यान्न, घरायसी सामान, मोटरपार्टस, मेसिनरी सामान, जुत्ताचप्पल लगायतका सामानहरुका साथै विभिन्न किसिमका  लागुऔषधहरु नेपाल भित्र्याउने  क्रम बढेको  स्थानीय व्यापारीले बताएका छन् । नेपालबाट भने तस्करहरु सबैभन्दा बढी मदिरा र लागुऔषध गाँजा लुकाइ छिपाइ भारत लाने गरेको श्रोतले जनाएको छ । 

    तस्करहरुले जिल्लाका  सबैजसो बजारमा अवैध रुपमा भन्सार  छलेर ल्याएका सामानहरु पुर्याउन थालेपछि वैध ढंगले व्यापार गर्दै आएका व्यापारीहरुलाई  मर्का परेको मलंगवाका एक ब्यापारी राजकरण यादवले  गुनासो गरे । त्यस्ता सामानहरु सस्तो मूल्यमा पाइन थालेपछि हामीजस्ता वैध ढंगले  व्यापार गर्ने ब्यापारीहरुको व्यवसाय नै धारापमा परेको यादवले बताए ।

    सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रमा सदरमुकाम मलंगवा सहित पश्चिममा  भेडियाही–लडकवा, खुटौना–भलुवाहा , भाँडसर–कन्हौली, बहादुरपुर, पकडीफेन्हारा , बलरा र पुर्वमा त्रिभुवननगर–सोनवर्षा,पर्सा–सहोडवा, नारायणपुर(दरवार लालबन्दी ,संग्रामपुर नाकाहरु छन् । ती नाकाबाट  तस्करहरूले अवैध रूपमा सामान ओसारपसार गर्ने गरेका छन् । चोरी तस्करीका कारण राजस्व संकलन समेत प्रभावित भएको छ । चोरीतस्करीले गर्दा  व्यापार, व्यवसाय सुस्त भएकोले जिल्लाको व्यापार ,व्यवसायलाई  सहज बनाउन र सिमाको सुरक्षा व्यवस्था चुस्त बनाएर चोरी तस्करी नियन्त्रण गर्नु पर्ने  मागहरु लिएर जिल्लाभरका व्यापारीहरु एकैसाथ प्रमुख जिल्ला अधिकारी समक्ष डेलिकेसन लिएर जानु पर्ने बुद्धिजीवीहरुले सुझाव दिएका छन् ।

    सर्लाहीको सदरमुकाम मलंगवा, बरहथवा, बयलबास, गोडैता, कौडेना, पकडीफेन्हारा, संग्रामपुर, हरिपुर, लालबन्दी, हरिवन , नवलपुर लगायतका  बजारहरुमा भारतबाट भन्सार छलेर भित्राइएका सरसामानहरु कै बोलवाला छ ।



No comments:

Post a Comment