Friday, March 26, 2021

नवआगन्तुक सर्लाहीका प्रजिअ हेमराज तामाङलाई उवासंघ मलंगवाले गर्यो स्वागत

 



मनोज यादव---

सर्लाही ,चैत १३

     सर्लाहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलाई आज(शुक्रवार)  उद्योग वाणिज्य संघ मलंगवाले स्वागत गरेको छ । हालै मात्र सर्लाही जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी लिएर आएका तामाङलाई सदरमुकाम मलंगवा नगरपालिका  वडा न-८ स्थित  उद्योग वाणिज्य संघको रंगलाल स्मृति भवनमा एक कार्यक्रमको आयोजना गरि स्वागत तथा परिचय गरेको हो ।

    प्रजिअ तामाङलाई  संघका अध्यक्ष विरेन्द्र साह लगायतका पदाधिकारीहरुले माल,अबिर र मधेशको पहिचान गमछा ओढार स्वागत गरेका थिए । स्वागतपछि बोल्दै प्रजिअ तामाङले आफू प्रमुख जिल्ला अधिकारीका रुपमा पहिलोपटक जिल्लामा आएको हुँदा प्रभावकारी रुपमा शान्तिसुरक्षाको प्रत्याभूति गराउने बताए ।

उनले आम जिल्लावासीको जिउधनको सुरक्षाका साथै समाजमा अमनचयन कायम गराउने आफ्नो मुख्य जिम्मेवारी रहने बताउँदै निर्धक्क भएर कानुनको परिपालना गरी व्यापार व्यवसाय संचालन गर्न उद्योगी व्यापारीलाई आग्रह गरेका छन् । नियम पुर्वक कानुनको परिपालन गर्दै  व्यापार व्यवसाय संचालन गरिरहेको अवस्थामा  यदि कसैले धाकधम्की दिइरहेको छ भने गोप्यरुपमा सोको जानकारी गराउन उहाँले भन्नु भयो ।साथै त्यस्ता ब्यक्तिलाई कडा कार्यवाही गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

   कार्यक्रममा संघका पदाधिकारीहरुले उद्योग ,व्यापार व्यवसाय संचालनको क्रममा आएका र आउन सक्ने सम्भावित समस्याहरुको बारेमा प्रजिअ तामाङलाई अवगत गराएका थिए ।उहाँबाट जिल्लाबासी,नगरबासी ,व्यापारी लगायतकाहरुलाई   सुरक्षाको प्रत्याभूति दिलाउन जस्तो सुकै बाधा अवरोधको सामना गर्न आफु तयार रहेकोले आ-आफ्नो कारोबार नियम कानुनको परिधिभित्र रहेर निर्धक्कका साथ गर्न आश्वासन पाए पछि संघका पदाधिकारीहरुले धन्यवाद दिएका थिए ।

    कार्यक्रममा उपस्थित संघका पदाधिकारी तथा अतिथिहरु एकअर्कालाई अबिरको टीका लगाएर आउँदै गरेको होली पर्वको शुभकामना आदानप्रदान समेत गरेका थिए ।



No comments:

Post a Comment