Saturday, March 20, 2021

तेस्रो क्वाटरफाइनल खेलमा गढीमाई ९१ रनले विजयी


लोकतन्त्र समाचारदाता---

सर्लाही , चैत्र ७ 

    सर्लाहीको मलंगवामा जारी खुल्ला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा शनिवार भएको तेस्रो क्वाटर फाइनल खेलमा गढीमाई जमुनियाले ओम सहारा पञ्चकन्यालाई ९१ रनले पराजित गरेको छ । उक्त जितसंगै गढीमाई सेमीफाइनलमा प्रवेश गरेको छ ।

    दुर्गा पुजा समिति जिल्ला विकास चौकले मलंगवाको तिनबिघे मैदानमा आयोजना गरेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ रोजेको गढीमाईले निर्धारित आफ्नो  २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २२ रन बनाएका थिए। ५ रनमै पहिलो विकेट गुमाएका गढीमाईले केही ओभर सम्म खेललाई सम्हालेर ब्याटिङ गरेपनि पछि विष्फोटक  ब्याटिङ गर्दै २ सय २२ रन बनाएका थिए ।

     गढीमाईका लागि इर्शाद खानले सर्वाधिक ५५ रन बनाएका थिए । त्यसैगरी नविन र गोपिकान्तले समान ३७-३७ रन बनाएका थिए । सुवाष पण्डितले पनि ३५ रनको योगदान दिएका थिए । पञ्कन्याका लागि विवेक, इश्वर, विशाल, शुशिल र अनिलले समान १-१ विकेट हात पारेका थिए ।

     २ सय २३ रनको लक्ष्य पच्छयाउन मैदानमा उत्रिएका  पञ्चकन्याले पहिलो ओभरमा आक्रमक प्रदर्शन गरेपनि पछि विकेट धमाधम खस्न थालेका थिए  । पञ्चकन्याले निर्धारित २० ओभरको  खेलमा १७.२ ओभरमा अलआउट हुदैं १ सय ३१ रन बनाएका थिए । पञ्चकन्याका लागि राजन कुमारले सर्वाधिक ५९ रन बनाएका थिए । पञ्चकन्यालाई १ सय ३१ रनमै सिमित राख्ने क्रममा नविन पटेल, मधु सुधन यादव र पिन्टुले समान ३-३ विकेट हात पारेका थिए । 

    ३७ रन बनाएर ३ विकेट लिएका नविन पटेल आजको खेलको म्यान अफ द म्याच घोषित भएका थिए । पटेललाई आयोजक समितिका सचिव दिनेश रायले म्यान अफ द म्याचको ट्रफि प्रदान गरेका थिए । 

    आइतवार हुने अन्तिम क्वाटर फाइनल खेलमा विजडम कोचिङ सेन्टर मलंगवा र सर्लाही एकेडेमी मलंगवाका बिच प्रतिस्पर्धा हुने आयोजक समिति सदस्य कलामुदिन अन्सारीले जानकारी दिएका छन् । 


No comments:

Post a Comment