Tuesday, March 2, 2021

कोरोना महामारीको बेला कोभिड अस्पतालमा करारमा खटिएका स्वास्थ्यकर्मीले अझैसम्म पाएनन् तलब

 



मनोज यादव---

सर्लाही ,फाल्गुन १८

     कोरोना महामारीको समयमा सर्लाही जिल्लाका विभिन्न कोभिड अस्पतालमा करारमा खटिएका स्वास्थ्यकर्मीहरुले तलब पाएका छैनन् ।

    जिल्ला अस्पताल मलंगवाले कोभिड अस्पतालको लागि एकैसाथ विभिन्न पदमा विज्ञापन गरि २०७७ साल असार मसान्तसम्मको नियुक्ति दिएर उनीहरुलाई खटाएको थियो ।प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयले कोभिड अस्पतालमा खटाइएका स्वास्थ्यकर्मीहरुको आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिक सम्मका लागि सेवा अवधि थप गर्ने निर्णय सहितको पत्र समेत पठाएर खटाएको भएपनि  थपिएको अवधीको तलब भत्ता हालसम्म पनि नदिएको उनीहरुले गुनासो गरेका छन् ।तलब भत्ता भुक्तानी गराइ दिनका लागि प्रदेशको सबैजसो निकायलाई गुहारी सकेको भएपनि हालसम्म आफुहरुले तलब भत्ता नपाएको पिडितहरु मध्यकै एकजना कर्मचारीले बताएका छन् ।

    श्रोतका अनुसार स्वास्थ्यकर्मीहरुको थपिएको चार महिना अवधीका सम्बन्धमा दरबन्दी प्रक्रिया नमिलेका कारण उनीहरुको तलब भत्ता रोकिएको हो ।नियम अनुसार मन्त्री परिषदको बैठकले दरबन्दी सृजना  गर्नुपर्ने भएपनि पूर्व निर्धारित दरबन्दी अनुसारको करार अवधी समाप्त भइसकेपछि थप गरिएका समयावधिका लागि मन्त्री परिषदको बैठकले दरबन्दी अनुमोदन गरेको छैन ।

    सामाजिक विकास मन्त्री नवल किशोर साहले मन्त्री स्तरीय निर्णय गरेर कर्मचारीहरुको करार अवधी थप गरेका थिए ।तर उक्त निर्णय बैठकमा लगेर अनुमोदन नगराएका कारण भुक्तानीमा कानुनी अडचन खडा भएको श्रोतले जनाएको छ ।

    रोकिएको तलब भत्ता पाउनका लागि आफुहरु कामबाट हटेको बेला देखिनै जिल्लाका विभिन्न निकाय,पत्रकार देखि प्रदेश सरकारका उच्चपदस्थ ब्यक्तिहरुकोमा धाइसकेको तर अहिलेसम्म पनि भुक्तानीबारे कुनै टुंगो नलागेको उनीहरूले गुनासा गरेका छन् ।हामीले दशैं,तिहार र छठ पर्वमा समेत तलब नपाएको पडितहरुले दुखेसो पोखे ।विगत लामो समयदेखि भुक्तानीबारे कुनै टुंगो नलाग्दा आफुहरु मर्कामा परेको उनीहरुले भने।

     


No comments:

Post a Comment