Saturday, March 13, 2021

प्रदेश-२ को ८ वटै जिल्लाका मुद्धा फाँट हेर्ने प्रहरी अधिकृतहरु एकैसाथ सर्लाहीमा

**अवलोकन भ्रमण तथा सचेतनामूलक प्रशिक्षण**

लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन २९

   प्रदेश न-२ अन्तर्गतका ७ वटा जिल्लाका  मुद्धा फाँट हेर्ने प्रहरी अधिकृतहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालय सर्लाहीको अपराध अनुसन्धानसँग सम्बन्धित सम्पूर्ण शाखाहरुको अवलोकन तथा भ्रमण गरेका छन् ।

    पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्ला स्थित मुद्दा सम्बन्धी कामकार्बाही गर्ने ईलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयका मुद्धा फाँटका प्रमुखहरुले संयुक्तरुपमा  अवलोकन भ्रमण गरेको जिप्रका मलंगवाका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिएको छ ।

अपराध अनुसन्धानको क्षेत्रमा अपराध अनुसन्धान शाखाको अभिलेख व्यवस्थापन लगायत अनुसन्धान तथा काम कार्बाहीमा प्रदेश भरीमै नमूना देखिएकाले अन्य ७ वटै जिल्लाका मुद्धा फाँट हेर्ने प्रहरी अधिकृतहरुले जिल्ला प्रहरी कार्यालय सर्लाहीको अपराध अनुसन्धानसँग सम्बन्धित सम्पूर्ण शाखाहरुको अवलोकन तथा भ्रमण गरेको  प्रवक्ता  कुँवरले जानकारी दिए ।

    संघीय प्रहरी इकाई कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरीक्षक किशोर कुमार दाहालको नेतृत्वमा ७ वटै जिल्लाका प्रहरी अधिकृतहरुले मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयमा अवलोकन भ्रमण गरेका हुन् ।

    त्यस्तै  मलंगवा नपा वडा न-१० स्थित जानकी फैमिली होटल एण्ड पार्टी पैलेसमा अपराध नियन्त्रणको सम्बन्धमा Proactive Policing  को लागि ‘समुदाय प्रहरी साझेदारी’ अवधारणा अन्तर्गत मलंगवाका  विभिन्न ४ वटा विद्यालयका विद्यार्थी, शिक्षक, सामुदायीक प्रहरी सेवा केन्द्र सर्लाहीका पदाधिकारीहरु, वुद्धिजिवी, भद्रभलादमी सहित अवलोकन भ्रमणमा आएका सर्लाही सहित अन्य ७ वटै जिल्लाका प्रहरी अधिकृतहरुको सहभागितामा साईबर अपराध, बाल विवाह, लागूऔषध र लैंगिक  हिंसाका विषयमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम समेत गरिएको छ । कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरीक्षक किशोर कुमार दाहालको प्रमुख आतिथ्यता रहेको थियो भने सर्लाहीका प्रहरी प्रमुख सन्तोष सिंह राठौरले कार्यक्रमको उद्धेश्यबारे सहभागीहरुलाई प्रष्ट पार्नुभएको  थियो।

No comments:

Post a Comment