Monday, March 22, 2021

विद्युत चुहावट नियन्त्रण अभियान सुरु,पहिलो दिन ११ जना नियन्त्रणमा



मनोज यादव---

सर्लाही ,चैत ९

     नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले विद्युत चुहावट नियन्त्रण गर्न वितरण केन्द्र अन्तर्गतका पालिकाहरुमा  अभियान थालेको छ ।जिल्लामा भइरहेको बिधुत चोरी नियन्त्रण गर्ने  उद्देश्यले मलंगवा वितरण केन्द्रले आइतवार बाट  अभियान अघि बढाएको हो ।

      उक्त अभियान अन्तर्गत पहिलो दिन आइतवार प्राधिकरणका कर्मचारी तथा सई देवनारायण महतोको कमाण्डमा खटिगएको प्रहरी टोलीले ब्रह्मपुरी गाउँपालिका धर्मपुर टोलबाट १ जना र चन्द्रनगर गाउँपालिका मोहनपुर,फरिदा टोल,कोइरियाही टोल तथा लघुवा टोलबाट १० जना गरि ११ जनालाई हुकिंङ्ग मार्फत बिजुली चोरी गरिरहेको अवस्थामा उनीहरुको घरबाटै नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिएका एघारै जनालाई प्रति ब्यक्ति ११ हजार रुपैयाँको दरले जरिवाना गराई एकपटकको लागि चेतावनी दिएर छाडेको वितरण केन्द्र मलंगवाका उप प्रबन्धक बिनोद यादवले बताए ।यो अभियान मलंगवा वितरण केन्द्र अन्तर्गत पर्ने सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका सहित हरिपुर्वा ,कबिलासी,गोडैता, बलरा नगरपालिका तथा पर्सा , कौडेना,रामनगर,चक्रघट्टा,चन्द्रनगर, ब्रह्मपरी, विष्णु गाउँपालिकामा निरन्तर चलिरहने उप प्रबन्धक यादवले जानकारी दिए ।


No comments:

Post a Comment